हेटौंडा उपमहानगरपालिकाको आन्तरिक आमदानीको यस्तो छ अवस्था

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आन्तरिक आमदानी सोचे अनुसार हुन सकेको छैन । आन्तरिक आमदानी कम हुँदा विकास निर्माणका काममा प्रभाव पर्न सक्ने आकलन गरिएको छ । उपमहानगरपालिकाको सबै भन्दा धेरै गत वर्ष ढुङ्गा, गिट्टी, वालुवाको आमदानी भएकोमा त्यो आमदानी घटेकोले विकासका काम गर्न थप समस्या भएको मेयर हरि बहादुर महतले वताउनुभयो ।
चालु आर्थिक बर्षको मंसीर मसान्तसम्म आन्तरिक आय तर्फ प्रगति ३८ दशमलब १९ प्रतिशत देखिन्छ । उपमहानगरपालिकाको मुख्य आन्तरिक आय श्रोत मध्ये एकीकृत सम्पत्ति कर, घरवहाल कर, बहाल विटौरी तर्फ कूल अनुमानको मंसिर मसान्त सम्ममा करीव ५० प्रतिशतको हाराहारीमा राजश्व संकलन भएको मेयर महतले वताउनुभयो । पूर्वाधार सेवाको उपयोग कर ९० लाख रुपैया संकलन भएको र आषाढ मसान्त सम्म न्यूनतम अंक एक करोड छपन्न लाख रुपैयामा ठेक्का आव्हान भई सकेको सन्दर्भमा आन्तरिक तर्फको वार्षिक राजस्व अनुमान करिव लक्ष्य नजिक पुग्ने देखिएको छ ।
सिमेण्ट विक्री कर ठेक्का सञ्चालनमा रहेको छ । यसबाट काम भइरहेको छ । संघीय सरकारद्वारा गत २०७७ श्रावणमा जारी ढुंगा, गिट्टि, बालुवा उत्खनन, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ का केहि प्रावधानहरुका कारण नदीजन्य पदार्थ (ढुंगा, गिट्टि, बालुवा) उत्खनन, संकलन तथा विक्री वितरण हुन सकेको छैन । नदीजन्य निर्माण सामाग्रीको अभावमा विकास निर्माणका कार्यहरु अवरुद्ध हुन पुगेको उहाँले वताउनुभयो ।
यसरी ठेक्का मार्फत राजश्व संकलन गर्न नपाउँदा चोरी नदीजन्य पदार्थहरुको चोरी निकासी बढेको र त्यसलाई नियन्त्रण गर्ने क्रममा पक्राउ परेका ढुवानीका साधानहरुमा लगाइएको जरीवानाबाट करिव ३२ लाख राजश्व संकलन भएको मेयर महतले वताउनुभयो । नदीजन्य निर्माण सामग्री आपूर्तिका लागि विगतमा लिलाम हुन नसकी मौज्दात रहेको नदीजन्य पदार्थ करिव २० हजार ६ सय ४८.२३ घनमिटर लिलाम विक्री गरिएको छ । त्यसैगरी विपद्का दृष्टिकोणले नदीजन्य जोखिमयुक्त क्षेत्रहरु पहिचान गरी सम्भावित स्थानहरुबाट नदीजन्य पदार्थहरु प्राविधिक समितिको सिफारिस अनुसार करिव २ लाख ८ हजार ५ सय २७ दशमलब ५ घनमिटरपरिमाणमा निकाल्न आवश्यक पहलहरु भईरहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार उपमहानगरपालिकको राजश्व आयका स्रोतहरुको पहिचानका लागि संभावित स्रोतहरु, करका दर र दायरा आदिको अध्ययन, विश्लेषण तथा राजश्व प्रक्षेपण गरी उपमहानगरपालिकाको राजश्वका आयामहरु पहिचान गर्न र स्रोतको सुनिश्चितताको लागि राजश्व अध्ययन तथा प्रक्षेपण गर्ने कार्य अघि बढाइएको उहाँले वताउनुभयो ।
उपमहानगरपालिकाको राजश्व संकलन कार्यलाई प्रविधि मैत्री वनाउने नीति अनुसार हाल १० वटा वडामा कम्प्यूटर विलिङ मार्फत कार्य संचालन भईरहेको छ । साथै चालु आर्थिक वर्षमा सबै वडाबाट अनलाइन प्रणाली मार्फत राजश्व संकलन कार्य सञ्चालन गर्नको लागि प्रक्रियामा रहेकोछ ।
नगर क्षेत्रका विभिन्न कारणवाट ब्यवसाय दर्ता हुन छुट भएका ब्यवसायीहरुलाई करको दायरामा ल्याउन गत वर्षवाट ब्यवसाय कर संकलन टोली परिचालन गरिएकोमा चालु आ.ब. को यस अवधिमा ८ सय १७ वटा नयाँ ब्यवसाय दर्ता भएका छ ।
हेटौडा औधोगिक क्षेत्रभित्र रहेका व्यावसायिक प्रतिष्ठानहरु विविध कारणले यस कार्यालयमा दर्ता हुन नसकेकोमा उद्योग संघ हेटौडाको समन्वयमा विगत ४ बर्षको कर असुल गरी हाल ७२ वटा व्यवसायहरु दर्ता भएको र बाकी दर्ताको लागि माघ मसान्तसम्म दर्ता समयावधि थप गरिएको छ ।