चार वर्षमा बलात्कारपछि १७ को हत्या

जनपत्र
२६ माघ २०७७, सोमबार ०६:४९

रुपन्देहीको कोटहिमाईमा घाँस काट्न गएकी १२ वर्षीया सरस्वती हरिजनको २०७४ माघ २२ गते बलात्कारपछि हत्या भएको थियो। उक्त घटनामा सन्दीपकुमार धोवीको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। अभियुक्त धोवी जेल जीवन बिताइरहेका छन्।

तर, कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषीलाई प्रहरीले अझै पत्ता लगाउन सकेको छैन। ०७५ साउन १० गतेको उक्त घटनाले सडकदेखि सदनसम्म तताएको थियो। यस्तै, बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको पनि बलात्कारपछि हत्या भएको छ। तर, घटनाको पाँच दिनसम्म पनि सुराक नभेटिएपछि निर्मला प्रकरणजस्तै होला कि भनेर आशंका उब्जिएको छ।

यी तीन घटनाजस्तै पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। ०७०र७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए। ०७६र७७ सम्म आइपुग्दा दुई गुणा बढेर २ हजार १ सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ।

प्रदेश १ मा बढी घटना भएको देखिन्छ। ०७४र७५ मा ३ सय ४८, ०७५र७६ मा ५ सय ४८, ०७६र७७ मा ४ सय ८५ र ०७७र७८ को पुससम्म ३ सय २५ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। संख्यात्मक रूपमा प्रदेश १ मा धेरै घटना देखिए पनि वृद्धि भने सुदूरपश्चिममा देखिन्छ। प्रहरी मुख्यालयका अनुसार ०७४र७५ मा सुदूरपश्चिममा ९३ वटा बलात्कारका घटना भएका थिए। ०७५र७६ मा १ सय ७१, ०७६र७७ मा २ सय १ र ०७७र७८ को पुससम्म १ सय २३ वटा घटना भएको देखिन्छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी भागरथीको हत्यारा पत्ता लगाउन घटनास्थलमा खटिएका छन्। प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले घटनास्थलबाट बरामद भएका मोबाइल, भागरथीका साथी र आफन्त, नजिकै चल्ने सार्वजनिक यातायातका चालकलगायतसँग सोधपुछ गर्ने काम भइरहेको बताए। ‘अहिले नै अभियुक्त यही भन्ने किटान भएको छैन। सबै पक्षसँग बुझ्ने काम भइरहेको छ’, एसएसपी सिंहले भने।

प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले संख्यात्मक रूपमा तुलना गर्दा बलात्कारका घटनामा कमी आएको बताए। ‘०७४ देखि ७६ सम्म आइपुग्दा बलात्कार घटना केही हदसम्म कमी हुँदै आएको देखिन्छ’, प्रवक्ता कुँवरले भने, ‘बेला–बेला हुने क्रूर हत्याका घटनामा प्रहरी संवेदनशील छ।’ निर्मला प्रकरणमा प्रहरी गम्भीर रूपमा अनुसन्धानमै रहेको दाबी उनले गरे। अन्नपूर्णपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*