भारतको उत्तराखण्डमा हिमनदी विष्फोट हुँदा नौ जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

जनपत्र
२६ माघ २०७७, सोमबार ०६:३१

भारतको उत्तराखन्डस्थित एउटा हिमनदी विष्फोटपछि आएको बाढीका कारण नौ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी बेपत्ता भएका छन्। बाढीले एउटा बाँध पूरै बगाएको छ। उत्तराखण्डको चमोली जिल्लामा पर्ने हिमपहिरो विष्फोटपछि बाँध पूरै भत्किदा तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको बीबीसी हिन्दीले जनाएको छ। कैयन् गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ। सामाजिक सञ्जालमा राखिएका भिडियोहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धौलीगङ्गा नदीको छेउछाउमा रहेका बस्ती डुबान भएको देखिन्छ।

बाढीले निर्माणाधीन जलविद्युत आयोजनाको ऋषिगंगा बाँध पूरै बगाएको छ। हराएकामध्ये बाँधस्थलमा काम गरिरहेका मजदुरहरु छन्। त्यहाँ १५० मजदुर काम गरिरहेका थिए। तीमध्ये केहीको उद्दार भएको छ भने केही मजदुर बाँधको सुरुङमा फसेका छन्। उत्तराखन्डका सबै जिल्लामा उच्च सावधानी अपनाउन भनिएको छ। मुख्यमन्त्री त्रिवेन्द्र सिंहले बाढी आएको जानकारी आफूले बिहान साढे ११ बजे नै पाएको उल्लेख गर्दै तत्कालै उद्दारमा सुरक्षाकर्मी परिचालन गरेको बताएका छन्। उनले बाढीका पुराना भिडियो सामाजिक सञ्जालमा राखेर आतंकित नबनाउन आग्रह गरेका छन्।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताएका छन्। उनले ट्विट गर्दै लेखेका छन्, “सबैको कुशलताका निम्ति यति वेला सम्पूर्ण देशले प्रार्थना गरिरहेको छ।” भारतीय वायुसेनालाई उद्धारकार्यका निम्ति तयार राखिएको सरकारले जनाएको छ। इन्डो–तिब्बती सीमा प्रहरीले चमोलीबाट विभिन्न भारतीय मिडियालाई दिएको जानकारी अनुसार हिमपहिरोका कारण आएको बाढीका कारण तपोवन क्षेत्रमा फसेका कम्तीमा १६ जनालाई आइतबार सकुशल उद्धार गरिएको छ। अहिले पानीको बहाव कम भएको छ। हिमालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*