‘प्रचण्ड–माधव समूह कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी’
काठमाण्डाै – प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी प्रचण्ड–माधव समूह भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘मान्छे बिग्रियो भने कहाँ पुग्छ ? आज कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिस्टकै बर्को ओढेर उहाँ बाटामा बसेको छ । कम्युनिस्टकै बर्को ओढेर बाटामा बस्ने र कम्युनिस्ट आन्दोलनकै सबभन्दा बढी विरोधी । लोकतन्त्र, कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट एकताको विरोधी सबभन्दा को छ भन्दाखेरि कम्युनिस्टकै खोल ओढेकाहरू । विगतमा पनि दुःख दिए । विगतका आन्दोलनहरूलाई पटक–पटक बदनाम गराए वा ध्वस्त पारे । नागरिकले सुन्न नसक्ने गरि कम्युनिस्ट आन्दोलनलाई बदनाम गराए । कम्युनिस्ट आन्दोलन भनेको निर्दयी, हृदयहीन, मानवता नभएको स्वार्थका लागि जे पनि गर्न हुन्छ भन्ने खालको प्रभाव दिने गरि उपद्रो मच्चाए ।’
माधव नेपालप्रति आक्रामक
प्रधानमन्त्री ओलीले बिहीवार पनि भूमि व्यवस्था र सुकुम्बासी समस्या समाधान गर्ने आफ्नो नेतृत्वको सरकारको अभियानलाई नेता माधव नेपालले अघि बढ्न नदिएको प्रसङ्ग दोहोर्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘यस पटक पनि उहाँ कपाल लुछीलुछी, छाती पिटी पिटी किन रुनुभएको छ ? आयोग बन्यो, अब किसानको केही हुने भो, उहाँलाई पिर परेको छ । उहाँलाई कृषि के हो ? हलो त समातेको छैन कहिल्यै । के बुझ्नु ? नजोति खान पाएपछि किन बुझ्नु ?’
आफ्नै कार्यकर्ता नियुक्त गर्दा नि माधव नेपालले आफ्ना पक्षधरको कुरा उठाएर अवरोध सिर्जना गर्ने गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘माधव नेपाल हो जसले किसानका समस्या समाधान गर्न दलबहादुर आफ्नै मन्त्री अनि शारदा सुवेदीलाई मेरो होइन भन्नुभयो । पछिल्लो समय पनि उहाँले दिएको दुःख त्यही हो । मेरा मान्छे, मेरा पक्षधर । यस पटक पनि उहाँहरूले खुब रोक्न खोज्नुभयो । पर्नुभो फेला पद्मा अर्यालको । देवी ज्ञवाली कसको मान्छे ? मेरो मान्छे हो ? मेरो त जात, गोत्र ठेगाना केही पनि मिल्दैन । पार्टीको मान्छे हो ।’






