डाक्टर केसी फागुन १२ गतेदेखि अनसनमा बस्ने, ओली प्रधानमन्त्री रहुञ्जेल देश खतरामा रहेको दाबी

जनपत्र
२१ माघ २०७७, बुधबार ०६:४४

प्रतिनिधि सभा विघटन र अहिलेका विकृतिविरुद्ध डाक्टर गोविन्द केसी फागुन १२ गतेदेखि २० औँ आमरण अनसन बस्नुहुने भएको छ । झण्डै ८० वर्षसम्म नागरिकहरूले रगत–पसिना बगाएर ल्याएको लोकतान्त्रिक व्यवस्था जोखिममा रहेको संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने अधिनायकवादी व्यवस्थाका विरुद्धमा आफूले आमरण अनसन बस्न लागेको डाक्टर केसीले जानकारी दिनुभएको छ ।

एक दशकदेखि देशको स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका पक्षमा निरन्तर सङ्घर्षरत रहेकोमा केही माग पूरा भएको र केही बाँकी रहेको स्मरण गराउँदै डाक्टर केसीले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गो राज्य संयन्त्र नै कब्जामा लिएकाले त्यसको विरुद्धमा अनसन बस्न बाध्य भएको बताउनुभएको छ ।

केपी शर्मा ओली देशको प्रधानमन्त्री रहेसम्म संविधान मात्रै नभइ सिङ्गो देशको स्वार्थ र सुरक्षासमेत खतरामा तथा अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर रहेको डाक्टर केसीको दाबी छ । नागरिकले नैतिक बलमा टेकेर अहिंसात्मक सङ्घर्ष गरेमा लोकतान्त्रिक अधिकारहरू हरण गर्ने सबै प्रपञ्च असफल हुने डाक्टर केसीको विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*