जुम्लाको गोठी गाउँमा आगलागी : २६ घर जले, गाउँ नै उजाड

जनपत्र
१५ माघ २०७७, बिहीबार ०६:२८

जुम्लाका तिला गाउँपालिका-७ गोठीगाउँमा २६ घर जलेर नष्ट भएका छन्। मंगलबार साँझ गोठीगाउँमा आगलागी हुँदा २६ घर जलेका हुन्। आगलागीको खबर पाएपछि खलंगा बजारबाट प्रहरी निरीक्षक नवीन थापा मगरको कमान्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक झुपेन्द्रबहादुर शाहीको कमान्डमा ३ जना र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमान्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयको प्रयासपछि १६ घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक थापा मगरले जानकारी दिए।

आगो गाउँभर फैलिएकाले नियन्त्रणमा कठिनाइ भएको उनको भनाइ छ। अधिकांश घरका छाना काठ र छाना भित्र घाँस राखेकाले आगो चाँडै फैलिएको थियो। आगलागीबाट २६ घर जलेर नष्ट भएका छन् भने १६७ जना विस्थापित भएका छन्।आगलागीमा ३७ ओटा गाईगोरु, २६ वटा भेडा बाख्र मरेका छन्। लाखौं रुपैयाँ नगद जलेको र अन्य पशुपन्छी मरेको स्थानीयले जनाएका छन्। मंगलबारदेखि लागेको आगो बुधबार बिहान ११ बजेमात्र नियन्त्रणमा आएको हो। आगो भीम रोकायको घरबाट सुरु भएको एक घण्टामा गाउँभर फैलिएको थियो।

स्थानीय लालबहादुर रोकायका अनुसार एकसाथ आगो फैलिएपछि कसैले घरबाट सामान निकाल्न नपाएका हुन्। आँखै अगाडि भेडा, बाख्रा, कुखुरा र खरायो जलेर मर्दासमेत जोगाउन नसकेको उनको भनाइ छ। आगोले पूरै गाउँ नै सखाप भएपछि स्थानीयको बिचल्ली भएको छ। भौगोलिक रुपमा विकट क्षेत्र भएकाले राहत पुर्याउनेसमेत कठिन भएको प्रशासनले जनाएको छ। प्रविधिक कारणले उडान भर्न नसक्दा बुधबार राहत पुर्याउन नसकिएको जुम्लाका पमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए। गोठीगाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको पाइएको छ । अन्नपूर्णपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*