सिलाई र विद्युत् जडान तालिम ,सीपलाई व्यवहारमा उतार्न आग्रह

जनपत्र
३० चैत्र २०७५, शनिबार १७:३०

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नं. १ ले व्यावसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडासंगको सहकार्यमा सञ्चालित सिलाई कटाई तथा विद्युत् जडान सम्बन्धी तीन महिने तालिम शुक्रबार समापन भएको छ ।
तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामाले आफूले सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन् । उनले तालिममा लिने र काम नगर्ने हो भने राज्यले गरेको लगानी बालुवामा पानीझैं हुने बताइन् ।
धेरै वटा सीप लिएर कुनैपनि काम नगर्ने जनशक्ति धेरै भएका कारण बेरोजगारीको समस्या थपिएको भन्दै उपप्रमुख लामाले जुन काममा आफूलाई ईच्छा लाग्छ, त्यही कामसम्बन्धी तालिम लिएर निरन्तररुपमा लागे बेरोजगार भएर बस्नु नपर्ने बताइन् ।
वडा अध्यक्ष सविन न्यौपानेले जुन तालिम लिएको छ त्यसैलाई तिखार्दै व्यवसायिक रुपमा अगाडि बढ्न खोजे आफूहरुले पुनः एड्भान्स तालिमहरु सञ्चालन गर्दै जाने बताए । उनले सञ्चालन भएजति सबै तालिम लिने तर काम नगर्ने हो भने तालिम लिनुको अर्थ नरहने भन्दै सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गरे ।
वडा सदस्य ईश्वरी रसाईलीले सञ्चालन गरेको तालिममा वडा सदस्य सोमलाल स्याङ्तान, प्रशिक्षक शम्भु आचार्य, प्रशिक्षार्थी प्रदीप पाण्डे र तारा चौलागाईंले मन्तव्य व्यक्त गरेका थिए । तालिममा सिलाईतर्फ २० र विद्युत् जडानतर्फ १५ जना सहभागी रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*