हेटौंडाको एउटा यस्तो जम्बो परिवार

सय वर्ष नाघेका हजुरबा र ५ वर्ष टेक्दै गरेको नातिसहित २० जना रमाइरहेका छन्, वर्षांैंदेखि एउटै घरमा । हजुरबा सबैरै उठ्छन् । नुहाउँछन् । जपतप गर्छन् । अनि लिन्छन्, एक कप दूध । राम्रोसँग भित्र–बाहिर गर्न सक्दैनन् । दृष्टिशक्ति निकै कमजोर । श्रवण शक्ति त्यस्तै । तर, छोरा नातिनातिनाको जन्म दिनको तिथि सबैको याद छ । नातिनातिनाको जन्म तिथिमा स्वस्ति शान्ति गर्न निर्देशन दिन्छन् ।
उनी अर्थात् मकवानपुर हेटौंडा–२ का सय वषीय चिरञ्जीवी आचार्य । आजभन्दा ७८/८० वर्षअघि १८÷२० वर्षको हुँदा उनको रहर थियो, जम्बो परिवार । छिमेकीको घरमा हुने होहल्लाले उनलाई आफ्नो परिवार सानो हुँदा दुःख लाग्थ्यो । सबैलाई सोचेजस्तो फल कहाँ मिल्छ र ? उनको परिवार पनि सानै रह्यो, एक छोरा ।
उनका एक्ला छोरा रामचन्द्र । रामचन्द्र ७१ वर्षका भए । बुहारी पूर्णिमा ६९ वर्षकी भइन् । रामचन्द्रका ४ छोरा र २ छोरी छन् ।
चार पुस्ता एकै घरमा बस्छन् । परिवार संख्या २० । ख्यालठट्टा गर्दै खान्छन् अहिले पनि । ‘यो मज्जा चाहेर पनि सबैले कहाँ पाउँछ र ?’ रामचन्द्र भन्छन् ।
विवाहको केही दिनमै करिअर बनाउने बहानामा छुट्टिएरै बस्न रुचाउनेको जमात ठूलो छ । तर, चार पुस्ता एक घरमा कसरी मिलेर बसेका छन् ? यो एकताबद्ध गर्ने सूत्र के होला ?
अनुशासन मुख्य मन्त्र
परिवार मायाको डोरीमा उनिएको छ । एकअर्कोलाई आदर र सम्मान गर्छन्, सहयोग पनि त्यतिकै । कमाइ सगोल आम्दानी बनेर भित्रिन्छ । परिवारमा शिक्षक, पत्रकार, व्यवसायी, अधिकारकर्मी, इन्जिनियर र कृषक छन् । ससाना नानीबाबु चाहिँ विद्यार्थी । सबैले आआफ्नो जिम्मेवारी पूरा गरेका छन् ।
भान्छामै रमाइलो छ
रामचन्द्र अर्थात् फुर्सदी चार पुस्ता एकैचोटि खान बस्दा औधी रमाइलो हुने बताउँछन् ।
‘एउटाले एक थरी भनेर जिस्कन्छ, अर्कोले अर्को थरी । साँझ ख्यालठट्टामा रमाइलो गर्दै खाइन्छ । एक्ला त २÷४ गाँस पनि खान सकिन्नँ, त्यसमा के नै मज्जा र ?’ फुर्सदीले भने ।
फुर्सदीले छोराबुहारीहरू आपसमा मिलेर बसेको बताए । उनले परिवारबारे यसो भने, ‘भाइहरूले दाइलाई सम्मान र आदर गर्छन् । दाइहरू भाइलाई माया र वास्ता गर्छन् । देउरानी, जेठानी र सासूबीच त्यस्तै सम्बन्ध छ ।’
तीन घण्टे टीकाटालो
दसैँको टीकाटालो गर्न ३ घण्टा जति लाग्छ । यस दिन चिरञ्जीवीलाई भ्याइ नभ्याइ हुन्छ । उनी दिनभर नातेदारलाई आशीर्वाद दिइरहेका हुन्छन् ।
एक व्यक्तिको दुईपटक जन्मदिन
बालबालिका बढी उत्साहित हुन्छन्, जन्मदिनमा । परिवारमा एकै व्यक्तिको दुईपटक जन्मदिन मनाइन्छ, तिथि र मितिमा । तिथिअनुसारको जन्मदिनमा पूजा गर्ने चलन छ भने मितिको जन्मदिनमा केक काट्ने र बालबालिकाका साथीहरूलाई खाना खुवाउने चलन छ ।
के खान्छन् ?
प्रायः बेलुका सुक्खा रोटी, आलुफ्राई र आलु केराउको अचार पाक्छ । हरेक दिन दुई प्रकारका तरकारी, दाल र अचार पकाइन्छ । चुल्हो दुईवटा छन् । साकाहारी र मांसहारी दुवै छन् । माछामासु एउटा चुल्होमा पाक्छ । यसका भाँडावर्तन छुट्टाछुट्टै छन् । पोखरीमै माछा पालिएको छ । एक पटकमा १५/२० केजी माछा निकालेर ल्याइन्छ । र, फ्राई गरेर राखिन्छ । मौसमअनुसारका फलफूल होलसेलबाटै उठाउने गरिएको छ ।
सबैभन्दा व्यस्त फुर्सदी
रामचन्द्र आचार्यको अर्को नाम फुर्सदी । २०२७ सालदेखि पलस गर्दै गरे । उनी ‘समीक्षा’ पत्रिकाका लागि समाचार लेख्थे ।
४ बजे नै उठ्छन् । गाईलाई कुँडोपानी दिने, गोबर फाल्ने, दूध दुहुने काम भ्याउँछन् । त्यसपछि पाठपूजा सकाएर ६ बजे पसल पुग्छन् । श्री सूचना केन्द्र फर्सदीले वर्षौदेखि चलाउँदै आएको पसल । दिनभर पसलमा खटिन्छन् । जजमानी गर्ने भएकाले तिथिअनुसारको कर्म गर्न भ्याइनभ्याइ पनि हुन्छ । राति १०/११ बजेसम्म व्यस्तैव्यस्त ।
आत्मनिर्णयको अधिकार:फुर्सदी
फुर्सदी परिवारमा सवैलाई निर्णयमा स्वतन्त्रता रहेको बताउँछन् । उनी भन्छन्, ‘छोराहरू कामको सिलसिला तथा रमाइलोका लागि स्वदेश–विदेश घुमफिर गर्छन् । आवश्यक आर्थिक सहयोग सबैले गर्छन् । कसैले कसैलाई अब्जेक्सन गर्दैनन् । कसैले सवारी किनेर ल्याएपछि मात्रै थाहा हुन्छ, त्यसपछि गर्नुपर्ने आर्थिक सहयोग सबैले गर्छन् ।’
चार छोरा चार क्षेत्रमा
फुर्सदीका जेठो (भानुभक्त) पत्रकार महासंघको पूर्वअध्यक्ष हुन् । उनले हेटौंबाट प्रकाशित विभिन्न दैनिक पत्रिकाको सम्पादनसमेत गरेका छन् । अहिले ‘प्रहर खबर डटकम’को सम्पादक हुन् भानुझक्त । उनी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक पनि हुन् ।
माइला छोरा मधु र बुहारी दुवै शिक्षक हुन् । श्रमिक माध्यमिक विद्यालयमा र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यापन गर्छन् । मधु बिहान कलेजमा पढाउँछन्, दिउँसो विद्यालयमा र राति दैनिक पत्रिकामा काम गर्छन् ।
साहिला केदार अहिले मन्टेस्वरी चलाउँछन् । उनीसँग १२ वर्ष अन्नपूर्ण पोस्ट दैनिकमा डेक्स इडिटरको जिम्मेवारी सम्हालेको अनुभव छ । कान्छो छोरा रविको कन्सल्ट्यान्सी बिजनेस छ । उनले ३ मेगावाटको हाइड्रोको कामसमेत गरिरहेका छन् । यस परिवारले शिक्षा र पत्रकारितामा बढी योगदान दिएको छ ।
बुहारीहरू बुहारी जस्तै लाग्दैनन् : पूर्णिमा
रामचन्द्रकी श्रीमती पूर्णिमा आफूलाई बुहारीहरू छोरीजस्तै लाग्ने बताउँछिन् । उनी भन्छिन्, ‘मलाई यी मेरा बुहारीहरू हुन् । मैले बुहार्तन गर्नुपर्छ भन्ने लाग्दैन । उनीहरूले पनि यी हाम्री सासु हुन् भन्ने आँखाले हेरेका छैनन् ।’