प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ–मुख्यमन्त्री पौडेल

जनपत्र
६ माघ २०७७, मंगलवार १७:२६

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताएका छन् । “वाग्मती प्रदेश विकास दर्पण”को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकासलगायत सबै प्रकारका सूचकहरुमा वाग्मती प्रदेश अगाडि रहेको धारणा राखे ।

पौडेलले सडक, पुल, खानेपानी, सिंचाइ जस्ता विकासका आधारभूत आवश्यकता पुरा गर्नेदेखि लिएर सुरुङमार्ग निर्माणको योजनासमेत कार्यान्वयनको चरणमा रहेको बताए ।

मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने तथा केन्द्र सरकारसँग समेत साझेदारी गर्नुपर्ने भएका कारण सुरुङमार्ग निर्माणमा केही ढिलाइ भएको भए पनि अब केही समयमै निर्माण प्रारम्भ हुने बताए ।

सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिन लागेको बताउँदै वाग्मती प्रदेशका हरेक योजना अन्य क्षेत्रका लागिसमेत अनुकरणीय हुने गरेको उनले बताए । पौडेलले ‘सुसंस्कृत र सुखी जनता समाजवाद उन्मुख समृद्ध प्रदेश’ को दुरगामी सोचलाई पूरा गर्न प्रदेशको पहिलो आवधिक योजना २०७६/७७/ २०८०/८१ कार्यान्वयनमा ल्याइएको, प्रदेश नीति तथा योजना आयोगबाट दिगो विकास लक्ष्यसहित अन्य दस्तावेज तयार भई कार्यान्वयनमा ल्याइएको, आफू र मन्त्रीहरूबीच, मन्त्री र सचिवबीच एवं सबै तहका कार्यालय प्रमुखसँग कार्य सम्पादन करार सम्झौता भएको र त्यसको परिणाम सकारात्मक आएको उल्लेख गरे । मुख्यमन्त्री पौडेलले सरकार गठनको तीन वर्ष नपुगिकनै सरकारले गरेका कामको परिणाम देखिन थालिसकेको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुन निर्माणमा ५८ वटा ऐन, १९ वटा नियमावली, १६ वटा कार्यविधि, ३ वटा निर्देशिका, ८ वटा आदेश गरी १०८ वटा कानुन तर्जुमा भएको, पौष मसान्त सम्ममा बैठक बसी ४६३ वटा निर्णय गरेको, दुरगामी सोचलाई पुरा गर्न पहिलो आवधिक योजना २०७६/७७ देखि २०८०/८१ कार्यान्वयनमा ल्याइएको जस्ता विविध कामहरु रहेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्र प्रकाशन गर्ने गरेको, प्रदेश ऐन तथा नियम संग्रह प्रकाशन गरिएको, प्रहरी चौकी निर्माण गरिएको, सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना गरिएको, द्धन्द पिडित तथा विस्तापित परिवारलाई ३ करोड ९३ लाख ७० हजार सहयोग दिइएको जस्ता महत्वपुर्ण कामहरु गरिएको छ ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सामुहिक चक्लाबन्दीमा यान्त्रिकिकरणको माध्यमबाट अन्नबाली, तरकारी, माछा र फलफुल खेति गरिएको, दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर अनुदानको व्यवस्था गरिएको, कृषि पर्यटन प्रवद्र्धनको लागि कालिज, टर्की, लोक कुखुरा, अल्पकाका फार्म स्थापना गरि सञ्चालन गरिएको, कृषि सडक निर्माण गरिएको, ह्याचरी, दाना उद्योग सञ्चालन गरिएको छ ।

भैतिक पूर्वाधार विकास मन्त्रालयले एक घर एक धारा कार्यक्रम लागु गरेको, प्रादेशिक लोकमार्गहरुको निर्माण तथा विस्तारका काम भइरहेको, सडकमा कालोपत्रे, ढलान तथा ग्राभलको काम भएको, मुख्य गौरवको योजनामा रहेको भीमफेदी कुलेखानी सुरुङमार्गको कार्य प्रारम्भ गरि ठेक्का प्रक्रियामा पुगेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*