कोरोना संक्रमितमा ६ महिनासम्म देखा परिरहन्छन् यस्ता लक्षण

जनपत्र
६ माघ २०७७, मंगलवार ०६:१२

कोभिड–१९ बाट संक्रमित तीन चौथाइ भन्दा धेरै बिरामीहरु ६ महिनासम्मपनि कम्तीमा एउटा लक्षणबाट गुज्रिरहने गरेको नयाँ अध्ययनले देखाएको छ । शनिबार ल्यान्सेन्ट मेकिडल जर्नलमा प्रकाशित उक्त रिसर्चमा केन्द्रबिन्दु, वुहानका सयौँ कोरोना बिरामीहरुलाई पनि संलग्न गराइएको थियो । यसमा कोरोना भाइरसबाट सामान्य बिरामी पर्ने ८६ प्रतिशत मानिसहरुले ६ महिनासम्म स्वाद र गन्ध थाहा नपाउने गरेको पत्ता लागेको हो ।

कोभिडबाट सामान्य बिरामी पर्नु भनेको, भ्यान्टिलेटर र अक्सिजन आवश्यक नपर्नु र घरमै बसेर ठीक हुन सक्ने अवस्था हो । र स्वाद अनि गन्ध हराउनु कोभिडको प्रारम्भिक लक्षण भएकाबारे पहिले पनि स्वास्थ्यविद्हरुले बताइसकेका छन् जसमा रुघा नलाग्दा र नाक बन्द नभएपनि गन्ध थाहा पाउन कठिन हुने गर्दछ ।

त्यस्तै कोरोना संक्रमितहरुले महिनौँ महसुस गर्ने अन्य लक्षणमा चाहिँ थकान, मांसपेसीमा कमजोरी अनि कतिले चाहिँ सुत्नमा समस्या लगायत रहेका छन् । कोभिड–१९ को दिर्गकालीन असरबारे अध्ययन गरिरहेका वैज्ञानिकहरुले यस सम्बन्धी अझ गहिरो र धेरै रिसर्च आवश्यक भएको सुरुवातदेखि नै बताउँदै आएका छन् ।

अध्ययनका प्रमुख एवम् ‘नेसनल सेन्टर फर रेस्पिरेटरी मेडिसिन’ का प्रोफेसर बीन काओले भनेका छन्, “कोभिड नयाँ प्रकारको रोग भएकाले पनि हामीले भर्खर मात्र यसका केही दिर्गकालीन असरबारे बुझ्न थालेका छौँ । ” प्रोफेसर बीनका अनुसार यसै कारण विशेषगरी कोरोनाले गम्भीर बिरामी परेकाहरुलाई अस्पतालबाट डिस्र्चाज भइसकेपछि पनि लामो समयसम्म रेखदेख अनि उपचारको आवश्यक पर्ने गर्दछ ।

अनुसन्धानकर्ताहरुले यसमा विभिन्न शारीरिक परीक्षण र ल्याब टेस्ट पनि सञ्चालन गरेका हुन् जसमा ७६ प्रतिशत बिरामीमा कोरोनाबाट ठीक भइसकेको महिनौँपछि पनि विभिन्न लक्षण रहिरहेको पत्ता देखिएको हो । यसमा ६३ प्रतिशतमा मांसपेसी कमजोर हुने अनि दुख्ने र २६ प्रतिशतमा चाहिँ निद्रा सम्बन्धी समस्या रहेको पाइएको हो । त्यस्तै यसमा संक्रमित भएका बेला एन्टिबडिज मापन गरिएका बिरामीको पनि अध्ययन गरिएको थियो । र यिनको ६ महिनापछि पुनः परीक्षण गर्दा शरीरमा एन्टिबडि स्तर पहिले भन्दा ५० प्रतिशतले कम भइसकेको पत्ता लागेको हो जसले दोस्रो संक्रमणको जोखम बढाउनेमा स्वास्थ्यविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

यसअघि विश्व स्वास्थ्य संगठनले पनि कतिपय युवा र स्वस्थ मानिसहरुमा समेत भाइरसले लगातार गम्भीर असर पारिरहन सक्ने जानकारी दिएको थियो । उनीहरु अस्पताल भर्ना हुनु नपरेपनि लङ कोभिडका कारण लामो समय कमजोर स्वास्थ्य अवस्थाबाट गुज्रिन सक्ने बताइएको छ । यसको अर्थ बिरामीहरुले ६ महिनासम्म पनि भाइरसका कारण उत्पन्न विभिन्न समस्याका लागि अस्पताल जानुपर्ने हुन सक्छ तर यस अतिरिक्त उपचारका लागि अस्पातालसँग कम क्षमता हुनेछ जो पहिले नै कोभिडका बिरामीको उपचारमा व्यस्त र दबाबमा हुने गर्दछन् । बाह्रखरीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*