मनहरीमा दुर्लभ वनस्पति संरक्षणको लागि वनकरिया र चेपाङ्ग समुदायमा सचेतनामुलक कार्यक्रम

जनपत्र
२ माघ २०७७, शुक्रबार १७:२७

हेटौंडा । वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरले मनहरी गाउँपालिकाको वनकरिया र चेपाङ्ग समुदायमा दुर्लभ एवं संकटापन्न वनस्पतिहरुको बासस्थान संरक्षणको लागि सचेतनामुलक कार्यक्रम गरेको छ । मनहरी गाउँपालिकाको हाँडीखोलामा रहेका वनकरिया समुदायमा गरेको दुर्लभ एवं संकटापन्न वनस्पतिहरुको बासस्थान संरक्षणको कार्यक्रममा ३० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

मनहरी गाउँ पालिकाकै हङ्गलङ्गको चेपाङ्ग समुदायमा गरेको कार्यक्रममा २० जना सहभागी भएको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका कार्यालय प्रमुख रघुराम पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख पराजुली, वनस्पति सहायक सागिर हुसेन लगायतका कर्मचारीहरुले सहजिकरण गर्नुभएको थियो । प्रमुख पराजुलीका अनुसार वनकरिया तथा चेपाङ्ग समुदायहरु वनको आसपासमा बस्ने र खानामा कन्दमुलहरुमा पनि निर्भर रहने भएको हुनाले दुर्लभ तथा लोप हुने अवस्थामा पुगेका वनस्पतिहरुको बासस्थान संरक्षणमा जोड दिने उद्देश्यले सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक देखिएको हो ।

वनमा पाइने कन्दमुलहरु जसमा गिठ्ठा, भ्याकुर, तरुल लगायतका वनस्पतिहरुको प्राकृतिक उपलब्धतामा ह्रास आउँदै गरेको वनकरिया र चेपाङ्ग समुदायका मानिसहरुले स्वीकार गरेको उहाँबताउनुहुन्छ । उनका अनुसार भ्याकुर जस्ता दुर्लभ वनस्पति जुन साईटिसको अनुसूचीमा समेत परेका छन्, यस्ता अन्य थुप्रै वनस्पतिहरुको बासस्थान संरक्षण गर्ने तर्फ सचेत र सजग बनाउने अभियान चलाइएकोमा समुदायहरुले पनि सकारात्मक रुपमा लिएका छन् ।

यस्ता महत्वपूर्ण वनस्पतिहरुको संरक्षणमा स्वस्थानीय एवं परस्थानीय संरक्षण गर्नमा वनस्पति अनुसन्धान केन्द्रले समुदाय तथा प्रजाति केन्द्रित कार्यक्रमहरु चलाउँदै आएको छ । यस्ता वनस्पतिहरु लोप नहोउन र यिनीहरुको बासस्थान सुरक्षित रहोस् भन्नेमा यस्ता सचेनामुलुक कार्यक्रमहरु प्रभावकारी देखिन्छन् । साईटिसको सूचीमा नै परेको भोटे लहरा नामको वनस्पति धेरै पहिले नै मकवानपुर जिल्लामा अभिलेख भएकोमा अहिले यसको बासस्थानको पनि खोजी भइरहेको कार्यालय प्रमुख पराजुलीले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*