नेपालमा व्यवसाय तथा लगानीका अवसरबारे राउण्ड टेबल कार्यक्रम

जनपत्र
२९ पुष २०७७, बुधबार ०६:०८

नेपाल–भारत उद्योग वाणिज्य संघले नेपालमा व्यवसाय तथा लगानीका अवसरको सम्बन्धमा राउण्ड टेबल कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा भारतीय लगानीका विभिन्न कार्यक्रम ल्याउने प्रयास स्वरूप भारतमा सञ्चालित बीपीओ कम्पनी भर्टेक्स ग्लोबल सर्भिसेस इण्डियाका प्रतिनिधि तथा नेपालमा यससँग सम्बन्धित प्रविधि व्यवसायीबीच संघले मंगलवार ‘राउण्ड टेबल मिटिङ अन बिजनेश एण्ड इन्भेष्टमेण्ट अपरच्युनिटिस इन नेपाल’ कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा संघका अध्यक्ष सृजना राणाले भर्टेक्स ग्लोबल सर्भिसेस इण्डियाको उपस्थिति एवं सेवा नेपालको आउटसोर्सिङ तथा बीपीओको क्षेत्रमा सहयोगी बन्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा संघका उपाध्यक्ष सुनील केसीले नेपालमा पनि हाल जनशक्ति आउटसोर्सिङ गर्ने व्यावसायिक संस्थाहरू रहेको उल्लेख गर्दै नेपाली युवालाई तालीम, रोजगारी प्रदानका साथै उनीहरूलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित रहेको बताए । नेपाली जनशक्तिलाई विश्वका अन्य राष्ट्रका जनशक्ति सरह नै विकास गरेर विश्व बजारसम्म पनि उनीहरूको पहुँच विस्तारमा सघाउने उद्देश्यले विज्ञहरूसँग उक्त राउण्ड टेबल कार्यक्रम गरिएको जानकारी उनले दिए ।

उक्त अवसरमा भर्टेक्स ग्लोबल सर्भिसेस इण्डियाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गगन अरोराले भर्टेक्स ग्लोबल सर्भिसेस विश्व बजारका ५० नयाँ सोचमूलक प्रभावकारी व्यावसायिक संस्थाको रूपमा प्रतिष्ठित कम्पनी रहेको तथा यसले अमेरिका, बेलायत, फिलिपिन्स र भारतमा आफ्नो सेवा प्रवाह गरिरहेको बताए । निकट भविष्यमा भर्टेक्स ग्लोबल सर्भिस इण्डियाले नेपालमा पनि नेपाली साझेदार मार्फत आफ्नो सहकार्य तथा सेवा विस्तार गर्न चाहेको र यसबाट यहाँका व्यवसायीले लाभ लिन सक्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपालस्थित बीपीओ कलश सर्भिसेस प्रालिका प्रबन्ध निर्देशक रूपेशभक्त श्रेष्ठले ‘बीपीओ सिनारियो इन नेपाल’ विषयक प्रस्तुति दिएका थिए । नेपाली व्यावसायिक क्षेत्रले यस्ता नयाँ सोचयुक्त प्रविधि कम्पनीको सेवा प्राप्त गरी लाभ लिन सक्ने उनले बताए । कार्यक्रममा भारतीय राजदूतावासका नवनियुक्त वाणिज्य प्रथम सचिव अभिषेक उपाध्यायले नेपालले पनि कोभिड–१९ महामारीको समयदेखि केही हदसम्म डिजिटल मार्केटको अवधारणामा अघि बढ्दै गएको भन्दै बीपीओको क्षेत्रमा अवसर रहेको बताए । उनले भर्टेक्स ग्लोबल सर्भिस इण्डियाको अनुभव यसमा सहयोगी हुन सक्ने अपेक्षा गरे । नेपाल–भारत सम्बन्धमा रहेका विषयहरू विशेषगरी व्यापार, पारवहल, ऊर्जा, पूर्वाधार लगायत क्षेत्रमा राजदूतावासको तर्फबाट उच्चतम सहयोग गर्न आपूm तत्पर रहेको उनले बताए । कार्यक्रममा संघका कार्यक्रम र समितिका सदस्य आर अशोक कुमारले कार्यक्रमको उद्देश्य, यसको प्रभावकारिता, नेपालमा यसको सान्दर्भिकता लगायत विषयमा प्रकाश पारेका थिए । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*