खोला किनारकाे जग्गा हाउजिङको नाममा पास गराएकाे आराेपमा १७ जनाविरुद्ध मुद्दा दायर

जनपत्र
२७ पुष २०७७, सोमबार ०६:४०

ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । ललितपुरको कर्मनासा ९कोड्कु० खोला आसपासको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

ललितपुर महानगरपालिका २३ सिलौटेमा पर्ने कर्मनासा खोला र खोला आसपासको सरकारी र सार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका केही कर्मचारीको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाइ सार्वजनिक जग्गासमेत प्लटिङ गरी व्यक्ति विशेषलाई बिक्री गरेको उजुरीको आधारमा उनीहरू दोषी देखिएको अख्तियारले जनाएको छ ।

जैसीसहित नापी अधिकृत बालेश्वर यादव र सर्वेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नायब सुब्बाहरू ख्याम नारायण पौडेल र दिनेश न्यौपाने र खरिदार आत्माराम लुईँटेलविरुद्ध मुद्दा दायर भएको हो । यस्तै अख्तियारले यूरो हाउजिङ डेभलपर्स प्राली र यूरो ल्याण्ड डेभलपर्स प्रालीका सञ्चालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टङ्कबहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जवल मानन्धर तथा काठमाण्डौ अस्पताल प्रालीका सञ्चालकहरू डाक्टर ईश्वरलाल आचार्य, डाक्टर दुर्गामान जोशी र दुर्गेश नन्दिनी भट्टचनविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध कुल दुई करोड दुई लाख ३३ हजार ६ सय ७१ रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*