हेटौंडा उपमहानगरपालिकाको आठौ नगरसभा बैठकको यस्ता छन् निर्णय

जनपत्र
२६ पुष २०७७, आईतवार १६:५७

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आठौ नगरसभा बैठकबाट बिभीन्न निर्णयहरु ग्रिएको छ । नगरसभाले केही योजनाहरु परिबर्तन गर्नुका साथै केही कानुनहरु समेत संसोधन गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको नगरसभाले धेरै नीतिगत निर्णय गरेको छ । विभिन्न वडाहरुबाट संशोधनका लागि प्रस्ताव गरिएका नगर कार्यपालिकाबाट नगर सभामा स्वीकृतिका लागि पेश भएका अनुसुची बमोजिमका योजना तथा कार्यक्रमहरु संशोधन स्वीकृति गरिएको छ ।

उपमहानगरपालिकाको विभिन्न विषयगत समितिहरुबाट सिफारीस भई नगर कार्यपालिकाबाट नगर सभामा स्वीकृतिका लागि पेश भएका विषयगत क्षेत्रहरुमा विनियोजन भएको योजना तथा कार्यक्रमहरु संशोधन सहितको स्वीकृति गरिएको मेयर महतले वताउनुभयो । यस उपमहानगरपालिकाको विधायन समितिबाट प्रस्ताव गरिएको वन विकास सम्वन्धि विधेयक,२०७७ नगर कार्यपालिकाबाट निर्णय भई स्वीकृतिको लागि सिफारिस भएको छ ।

उपमहानगरपालिकाको अन्र्तवार्ता तथा सूचिकरण समितिबाट विभिन्न मितिमा पदपुत्र्ति सम्बन्धि भएको निर्णय अनुमोदन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको कार्यालय भवन निर्माणमा लाग्ने नक्सापास दस्तुर छुट गर्ने निर्णय भएको छ । असुल उपर गर्नु पर्ने बेरुजुलाई असुल उपर र नियमित तथा म्याद नाघेका पेश्कीहरुलाई फच्र्यौट सम्वन्धि कार्य गर्न कार्यदल गठन गरी कार्य अगाडी बढाउन नगर कार्यपालिकालाई निर्देशन दिने निर्णय भएको मेयर महतले वताउनुभयो ।

गत आषढमा सम्पन्न भएको नगर सभाबाट अख्तियारी प्राप्त गरी नगर प्रमुख स्तरीय निर्णयबाट सञ्चालन भएका अनुसुची–घ बमोजिमका योजना तथा कार्यक्रमहरु अनुमोदन गरिएको छ । यस उपमहानगरपालिकाबाट भए गरेको पूर्वाधार निर्माण एवम् कार्यक्रमहरुको मंसिर मसान्तसम्म नगरस्तरीय योजना तथा कार्यक्रमहरुका फरफारक समितिबाट फरफारकका लागि सिफारिस भएको निर्णय अनुमोदन गरिएको छ ।

आठौ नगरसभा बैठकमा चालु आर्थिक वर्ष र आउँदो आर्थिक वर्षमा गरिने कामका विषयमा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले जानकारी गराउनुभयो । पुर्वाधार क्षेत्र तर्फको चालु आर्थिक वर्षको स्वीकृत ४ सय २९ वटा कार्यक्रमहरु मध्ये १ सय २७ वटा योजनाहरु सम्झौता भई कार्यान्वयनमा गएको बताउनुभयो । सडक पूर्वाधार तर्फ ३७ वटा स्ल्याव ढलान सम्पन्न भई १२ किमी स्ल्याव ढलान सडक निर्माण भएको लामाले बताउनुभयो ।

हाल ९० वटा चालु अवस्थामा र ३ सय २ वटा योजनाहरु सम्झौताको चरणमा रहेको छ । यस उपमहानगरपालिकाको गौरवका आयोजनाहरुको रुपमा रहेका वडा नं. ४, ५ र ८ को मध्य भागमा रहेको कर्रा कोरीडोर योजनाको प्रथम चरणको कार्य सम्पन्नभएको उहाँले वताउनुभयो । वडा नं.१० मा रहेको एकिकृत बस टर्मिनल निर्माणको लागि निर्माण व्यवसायी रसुवा–आशिस–बानिया–जेभी छनौट भई सम्झौता भईसकेको छ ।

वडा नं.८ मा चन्द्रोदय मा.वि.को चौरमा प्यारापिट निर्माणको लागि निर्माण व्यावसायी छनौट भई सम्झौताको अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो । पुरानो बसपार्क क्षेत्र स्थित १० नं. वडा कार्यालय भवन रहेको स्थानमा आधुनिक सुविधायुक्त संरचना सहितको व्यवसायिक कम्पलेक्स भवन निर्माण गर्नका लागि बिस्तृत परियोजना तयार गर्ने कार्यको लागि परामर्शदाता संस्थासंग सम्झौता प्रक्रियाको अन्तिम चरणमा रहेको छ ।

यस हेटौडा नगर क्षेत्रभित्र सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ को यस उपमहानगरपालिका अन्र्तगत वडा नं. १, ३, ११ र १९ को लागि १ सय घरधुरी छनौटको प्रक्रिया अगाडी बढाइएको नगरसभामा जानकारी गराइएको छ ।

नगरको बृहत्तर विकासमा महत्व राख्ने ६३ कि.मी लामो चक्रपथ निर्माणको योजना क्रमशः निर्माण सम्पन्न गर्ने लक्ष्य अनुरुप उपमहानगरपालिकाले यस आ. ब. मा वडा नं. १५ र १६ खण्डमा योजना संचालन गर्न निर्माण व्यवसायी छनौट भई सम्झौताको चरणमा रहेको छ । त्यसैगरी वडा नं. १७ र १८ को एक्लेखेत राजदेवी सडक खण्डको सडक कालोपत्रे निर्माण कार्य अघि बढाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*