बागमती प्रदेशसभाको बैठक माघ ७ गते बोलाउन मन्त्रिपरिषद् बैठकको सिफारिस

जनपत्र
१७ पुष २०७७, शुक्रबार १७:०५

हेटौंडा — वाग्मती प्रदेशको प्रदेशसभा बैठक माघ ७ गते बस्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको सातौं अधिवेशन माघ ७ गते दिउँसो ३ बजेका लागि बोलाउन प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पत्राचार गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दल नेकपाको दाहाल–नेपाल समूहबाट प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको सातौं अधिवेशनको विषय अन्योलमा परेको थियो । बजेट अधिवेशन सकिएसँगै साउन ८ गते प्रदेशसभाको छैटौं अधिवेशन स्थगित गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुले पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने डरले मुख्यमन्त्री पौडेलले लामो समयदेखि प्रदेशसभाको बैठक बोलाएका थिएनन् ।

कानुनी व्यवस्थाअनुसार एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन सुरु गर्नुपर्ने बाध्यताअनुसार बैठक बोलाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*