कपडा ठेकेदार पिताम्बर मुन्का, जसले प्रहरी हेड्क्वार्टरलाई यसरी झुक्याए

जनपत्र
१४ पुष २०७७, मंगलवार ०६:२८

न्युनतम मूल्य कबोलेर नेपाल प्रहरीको उलन पाइन्टको ठेक्का लिएका बीरगञ्जका पिताम्बर मुन्काले प्रहरी प्रधान कार्यालयको आँखा छलेका छन् । प्रहरी हेड्क्वार्टरको आँखा छलेर कमजोर गुणस्तरको कपडा बेच्ने र महँगो मूल्य असुल्ने चाल रचेपछि क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि वीरगञ्जका सञ्चालक मुन्कालाई प्रहरीले पक्रेको छ । पिताम्बर मुन्कालाई वीरगञ्जबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरोका डिआईजी सहकुलबहादुर थापाले रातोपाटीलाई बताए । ब्यूरोले सो उद्योगका काठमाडौं स्थित प्रतिनिधि चितवन घर भएका नरेन्द्रनाथ पौडेललाई पनि पक्राउ गरेको छ ।

क्राउन टेक्सटाईल्स इण्डष्ट्रिज प्रालिले २० हजार मिटर उलन पाइन्टको कपडा खरिदको ठेक्का पाएको थियो । २ करोड १६ लाख ४० हजारमा प्रहरी हेड्क्वार्टर र सो कम्पनीको बीचमा आपूर्ति सम्झौता भयो । सम्झौताअनुसार आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्न प्रहरी हेड्क्वार्टरले ०७७ साउन ३० मा भारतको चेन्नईमा पठाएको थियो । तर, मुन्काका प्रतिनिधि नरेन्द्र नाथ पौडेलले दुई दिनपछि फेरि प्रहरी हेड्क्वार्टरको कागजात स्क्यान गरेर सोही ल्याव ९एसजिएस चेन्नई, भारत० मा कपडाको अर्को नमुना पठाएका थिए ।

प्रहरी प्रधान कार्यालयमा आफ्नो कम्पनीले बुझाएको स्याम्पल फेल हुने डरले मुन्काले कुरियरमार्फत अर्को नमुना परीक्षण गर्न पठाएपछि त्यसबारे प्रहरी प्रधान कार्यालयले अनुसन्धान थालेको थियो । प्रहरी प्रधान कार्यालयमा उनले पेश गरेको कपडाको नमुना र दोस्रोपटक चेन्नाई पठाएको नमुनाको गुणस्तर फरक रहेको पाइएको छ ।

‘प्रहरी हेड्क्वार्टरलाई झुक्याएर ठग्ने उद्योग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ केन्द्रीय अनुसन्धान व्यूरोका डिआईजी थापा भन्छन्– ‘ठगी उद्योग गरेको मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेका छौं ।’ प्रहरी प्रधान कार्यालयबाट पठाएको नमूना परीक्षण रिपोर्ट ढिला आएको तर, मुन्काका प्रतिनिधिले पछि पठाएको नमुना परीक्षण रिपोर्ट चाँडो आएपछि क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज माथि शंका उब्जियो ।

ल्याबसँग उनको मिलेमतो रहेको प्रहरीको दावी छ । नमूनाका लागी खरिद गरेको कपडाबापत प्रहरीले मुन्कालाई भारतीय रुपैयाँ १० हजार भुक्तानी दिएको छ । ठगी उद्योग गरेको प्रमाणित भएमा मुन्कालाई साढे २ वर्ष कैद सजाय र जरिवाना हुने कानूनी व्यवस्था छ । रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*