अफ्रिकी मुलुकको एक सहरमा विद्रोहीको हमलालाई नेपाली शान्ति सेनाले बनायो विफल

जनपत्र
१० पुष २०७७, शुक्रबार ०७:२९

नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख सहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ। उक्त सहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि प्रतिकार गर्दै नेपाली शान्ति सैनिकको एक गुल्मले विद्रोहीलाई विफल पारेको हो । नेपाली सेनाको कारबाहीबाट विद्रोही पछि हट्न बाध्य भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली शान्ति सैनिकको प्रयासबाट त्यहाँको सरकारी सेनाले पुनः उक्त सहर नियन्त्रणमा लिन सफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त सहरमा तैनाथ नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीको आक्रमणलाई विफल बनाएको हो ।उक्त घटना पश्चात विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हातहतियार र विष्फोटक पदार्थ नियन्त्रणमा लिएको छ। कारवाहीमा सहभागी नेपाली शान्ति सैनिक सबै जना सकुशल रहेको नेपाली सेनाले जनाएको छ।

आगामी आइतबारका लागि तय भएको आम निर्वाचनमा त्यहाँका पूर्वराष्ट्रपति फ्रान्कोइज बोजिजलाई निर्वाचनमा उम्मेदवार हुनबाट रोकेपछि द्वन्द्व सुरु भएको हो। पछिल्ला दिनमा सशस्त्र विद्रोहले उग्ररुप लिन थालेपछि उक्त निर्वाचन अनिश्चित बन्दै गएको छ। त्यहाँको अवस्थाको आँकलन गरी विपक्षी राजतीतिक दलहरुले शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता गर्दै निर्वाचनको मिति सार्न सरकारसँग अनुरोध गरेका छन्। विद्रोही समूहले उक्त मुलुकको उत्तर, पश्चिम र दक्षिणी भूभागबाट आक्रमण शुरु गरी राजधानी बन्गुई प्रवेश गर्ने प्रयास गरिरहेका छन्।​

विद्रोहीको उक्त प्रयासलाई रोक्न त्यहाँ तैनाथ शान्ति मिसनले शान्ति सैनिकलाई सरकारी सेनालाई सहयोग गर्न निर्देशन दिइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*