पहिले उमेर नपुगी बिहे, अहिले उमेर पुगेपछि बिहे

जनपत्र
९ पुष २०७७, बिहीबार १८:३०

काठमाण्डाै –  बेहुला उनै, घर उही । तर बिहे २ वर्षपछि । दैलेखको नौमूले गाउँपालिका ३ द्वारीकी खगिसरा खत्रीको गएको वैशाखमा गाउँकै डम्बर बस्नेतसँग बिहे भयो । बस्नेतसँग उहाँ २०७५ सालमै भागेर भागेर जानुभएको थियो । त्यतिबेला भागेर जाँदा उमेर पुगेको थिएन ।

दुई वर्षअघि उमेरै नपुगी भागेर गएको भोलिपल्ट खगिसरालाई फर्काउन डम्बरको घरमै दुईजना सहजकर्ता, जनप्रतिनिधि र खगिसराका अभिभावक पुगे । खगिसराको बिहे गर्ने उमेर नपुगेकाले फर्काउन आएको बताएपछि डम्बरका परिवार पनि सहमत भए । गएको वैशाखमा खगिसरा २० वर्ष पूरा गरेर २१ मा वर्षमा लागेपछि डम्बरसँगै बिहे भयो ।

उमेर पुगेर परिवारकै सहमतिमा बिहे भएपछि खगिसरा र डम्बर दुवैजना खुसी छन् ।  दुई वर्षको अवधिमा खगिसरा र डम्बर दुवैजनाले पढाइलाई अघि बढाए । १० कक्षा पढ्दै भागेकी खगिसराले एसईई दिएर कक्षा १२ सम्म पढ्नुभयो । डम्बरले पनि आफ्नो पढाइ पूरा गर्नुभयो । अहिले खगिसरा कक्षा १२ मा पढ्दै हुनुहुन्छ भने डम्बरले कृषि प्राविधिकको अध्ययन सक्नुभएको छ ।

खगिसरा जस्तै नौमूलेकी जुनाको पनि गएको असोजमा पहिले भागेर गएको केटासँग फेरि बिहे भयो । जुनाले डुंगेश्वर गाउँपालिकाका महेश बुढासँग २०७५ सालमा भागेर जानुभएको थियो । तर उमेर २० वर्ष नपुगेको भन्दै खगिसरा जस्तै उहाँलाई पनि भागेर गएको भोलिपल्ट घर फर्काइएको थियो । जुना पनि एक वर्ष माइतीमै बस्नुभयो । गएको असोजमा २० वर्ष पुगेर २१ मा लागेपछि परिवारले महेशसँगै उहाँको बिहे गराइदियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*