कोरोना भाइरस : अर्काे एउटा प्रकार, दक्षिण अफ्रिकाबाट बेलायत पुग्यो

काठमाण्डाै – बेलायतमा कोरोना भाइरसको एक नयाँ प्रकार भेटिएको छ, यो नयाँ प्रकार पछिल्लो नयाँ प्रकारभन्दा धेरै नै खतरनाक छ ।
कोरोना भाइरसको यो नयाँ प्रकार सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको हो ।
बेलायतमा यसको सङ्क्रमण पुष्टि भएका दुई जना भर्खरै दक्षिण अफ्रिकाको भ्रमणमा गएको बताइएको छ ।
बेलायतका स्वास्थ्यमन्त्री ह्यानककका अनुसार दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रकार बेलायतमा भेटिएको भन्दा तीव्र फैलिने र धेरै ‘म्युटेडेड’ छ ।
उनले यस प्रकारको प्रसारलाई ‘निकै चिन्ताजनक’ बताएका छन् । यसलाई मध्यनजर गर्दै दक्षिण अफ्रिकाको यात्रामा अहिले प्रतिबन्ध लगाइएको छ ।
यसका साथै पछिल्लो १५ दिनमा दक्षिण अफ्रिकाबाट फर्किएका र उनीहरुको सम्पर्कमा आएकालाई क्वरेण्टीनमा बस्न निर्देशन दिइएको छ ।
कोरोना भाइरसको यो नयाँ प्रकार दक्षिण अफ्रिकामा पनि गम्भीर चिन्ताको विषय बनेको छ ।
दक्षिणा अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मिखाइजले यस नयाँ प्रकारको चपेटामा आएर ‘युवा र स्वस्थ व्यक्ति पनि बिरामी परेको’ बताएका छन् ।
उनले भने, ‘एड्स महामारीको सुरुवाती दिनमा गुज्रिएको जसरी देश चल्न सक्दैन ।’
दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले नयाँ प्रकार निकै तीव्र फैलिरहेको र देशका कैयौँ क्षेत्र यसको चपेटामा परेको बताएका छन् ।
अहिले कोरोना भाइरसको यस प्रकारको अध्ययन भइरहेको छ तर अहिलेसम्म प्राप्त भएको जानकारीअनुसार यो कैयौँ गुणा तीव्र फैलिरहेको छ ।
बेलायतमा गएको मङ्गलबार यस नयाँ प्रकार देखिएको थियो ।
दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रकार बेलायतमा भेटिएको नयाँ प्रकारसँग मिल्दोजुल्दो छ, यद्यपि यी दुई छुट्टै–छुट्टै विकसित भएका हुन् ।
दुवै प्रकारमा एन५०१वाई नामको ‘म्युटेशन’ हुन्छ, जसले शरीरका कोषिकाहरूलाई प्रभावित गर्दछ ।
यसैबीच पछिल्लो २४ घण्टामा बेलायतमा कोभिड–१९ का ३९ हजार दुई सय ३७ सङ्क्रमित भेटिएका छन् ।
इम्पेरियल कलेज लण्डनका प्रोफेसर निल फर्ग्युसनले भने, ‘अहिले हाम्रो लागि सबैभन्दा ठूलो चिन्ता भनेको दक्षिण अफ्रिकाको नयाँ प्रकारलाई लिएर हो । त्यस भाइरस तीव्र फैलिने गरेको सङ्क्रमणको सङ्ख्या पनि तीव्र बढिरहेको छ ।’