पाकिस्तानसँगको टी–२० शृङ्खला न्युजिल्याण्डलाई, दोस्रो खेलमा ९ विकेटले विजयी

जनपत्र
५ पुष २०७७, आईतवार १९:५५

काठमाण्डौ – पाकिस्तानसँगको टी २० शृङ्खला न्युजिल्याण्डले एक खेलअघि नै जितेको छ । तीन खेलको शृङ्खलाअन्तर्गत आइतबार भएको दोस्रो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई नौ विकेटले हराएको हो ।

ह्यामिल्टनमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । उसका लागि मोहम्मद हफीजले अविजित ९९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले चार विकेट लिए ।

एक सय ६४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १९ ओभर २ बलमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । न्युजिल्याण्डको जितमा कप्तान केन विलियमसन र टिम सेइफर्टले एक सय २९ रनको साझेदारी गरेका थिए । टिम सेइफर्ट ८४ र केन विलियम्सन ५७ रनमा अविजित रहे । ओपनर मार्टिन गुप्तिल २१ रनमा आउट भए ।

पाकिस्तानका फहीम अशरफले एक विकेट लिए । पहिलो खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आउँदो मङ्गलबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*