रामजानकी विवाह महोत्सवः मैथिली परम्परा अनुसार स्वयंवर सम्पन्न

जनपत्र
५ पुष २०७७, आईतवार ०७:४८

काठमाण्डाै –   हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व सम्पन्न भएको छ ।

म मन्दिरबाट आएको डोलालाई जानकी मन्दिरबाट आएको सीताको डोलाले फेरा लगाएर प्रतिकात्मक रामजानकीको स्वयंवर गरिएको हो । राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट जानकीको झाँकी कीर्तन, बाजागाजासहित निस्केको डोला बाह्रबिघा मैदानमा पुगेपछि डोला फेरा गरी स्वयंवर हुने गर्दछ ।

स्वयंवरमा साधुसन्तसहित सांस्कृतिक झाँकी प्रदर्शन भएको थियाे । कोरानाकाबीच पनि हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको स्वयंवरमा सहभागिता थियो । बाह्रबिघामा स्वयंवरपश्चात् निस्केको दुवै डोला जनकपुर नगरको परिक्रमा गरी जानकी मन्दिर पुगेको थियाे ।

साँझदेखि जानकी मन्दिर प्राङ्गणमा बनाइएको विवाहमण्डपमा राम र जानकीको मैथिली परम्परानुसार विवाहको कार्यक्रम सुरु भएकाे थियाे । त्यहाँ हजारौँ श्रद्धालु रातभर जाग्राम बसेर राम र जानकीको विवाह हेरेर रमाउने गर्दछन् । यस अवसरमा श्रद्धालु भक्तजन महिलापुरुषले नाचगान भजन कीर्तन गरी रातभर रमाइलो गर्ने गर्दछन् ।

यसरी मनाइन्छ विवाहपञ्चमी महोत्सव

राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि राम जानकी विवाहपञ्चमी मेला लाग्ने गर्दछ ।

सीतोपाख्यान उत्तरार्द्धमा सीता स्वयंवरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथनन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्गशुक्ल पञ्चमी तिथिमा श्रीरामजानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख छ ।

विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी पर्व मनाउने परम्परा छ । राम र जानकीको स्वयंवर भएको जनविश्वास रहिआएको यस ठाउँमा विवाहपञ्चमीका दिन जनकपुरधाममा राम मन्दिरबाट जन्तीसहित  रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजा र लावालस्करसहित जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*