आफ्नो सन्तानलाई ७ हजारमा बेच्न बाध्य आमा !
गत महिना, बीबीसी अफ्रिका आईले केन्याको राजधानी नैरोबीमा बच्चाहरूको खरिद(बिक्रीको अवैध बजारको पर्दाफास गरेको थियो । यो खबर बाहिरिएपछि प्रहरीले तस्करीको आरोपमा सात जनालाई पक्राउ गर्यो । तर यो गैरकानुनी कार्यमा तस्करहरूका अलावा ती बच्चाहरूका आमाहरू पनि छन्, ती आमाहरूको त्यस्तो के बाध्यता होला कि उनीहरू आफ्नै बच्चालाई मात्रै सात हजारमा बेच्न तयार छन् रु जसको फलोअपमा बीबीसी आईले एक पीडित आमाको कथालाई प्रस्तुत गरेको छ ।
ती बाध्य आमाहरूमध्येकी एक अडामा पनि हुन् । अडामाका आमाबुबा भएसम्म उनको जीवन सजिलै बितिरहेको थियो । आर्थिक अवस्था उति बलियो नभए पनि खान लगाउन गाह्रो थिएन, उनी विद्यालय पनि जान्थिन । तर उनी १२ वर्षकी हुँदा उनका बुबाको निधन भयो । त्यसको केही वर्षमै अडामालाई अर्को वज्रपात पर्यो, उनकी आमाको पनि निधन भयो ।
केन्याको पश्चिमी गाउँमा रहेकी अडामा भन्छिन्, “त्यसपश्चात जीवन एकदमै गाह्रो भयो । मैले विद्यालय छाड्नुपर्यो र गासबासको प्रबन्ध गर्नुपर्यो ।”
२२ वर्षको उमेरमा अडामाको एक अपरिचित युवकसँग भेट भयो र ती युवकबाट उनी गर्भवती पनि भइन् । अडामाले एउटी छोरीलाई जन्म दिइन्, तर त्यसको तीन दिनपछि नै ती युवकको निधन भयो । अडामाले जसोतसो आफ्नी छोरीलाई हुर्काइन् । तर ती बच्ची १८ महिनाको पुगेसँगै बाँच्नका लागि आय चाहिएर अडामाले छोरीलाई उनकी बूढी हजुरआमाकोमा छाडेर कामको खोजीमा नैरोबी गइन् ।
कामको खोजी
नैरोबी पुगेर अडामाले सडकमा खरबुजा बेच्न थालिन्, तर आम्दानी निकै कम थियो । उसले दिनभरी कमाएर ल्याएको पैसा पनि उसँगै बस्नेले चोरी गर्थ्यो । सहरमा उनले झनै नयाँनयाँ चुनौतीहरूको सामना गर्नुपर्यो । आफ्नो सुरक्षाका लागि उनी कतिसँग लडिन् जसको निशानी अझै उनको निधारमा छ ।
त्यसपछि उनले निर्माण कम्पनीदेखि नाइट क्लब सम्म पनि पैसाको लागि काम गर्न थालिन् । उनले त्याहाँ आफू गर्भवती भएको कुरा तब सम्म लुकाइन् जबसम्म उनको शरीरले सिमेन्टको बोरा उठाउन सक्यो । यही क्रममा उनको भेट अर्का एक युवकसँग भयो । उनीहरू एक(अर्कालाई डेट गर्न थाले । त्यसको केही दिनमा नै उक्त पुरुषले अडामासँग बच्चाको इच्छा व्यक्त गरे ।
उसको इच्छाअगाडि अडामाले आफ्नो गाउँमा रहेकी छोरी पनि उतै उनीहरूसँग नै ल्याउने हो भने यसको इच्छा पूरा गर्न तयार भएको बताइन् । बच्चा पेटमा भएको पाँच महिनासम्म ती पुरुषले घरको भाडा तिर्नेदेखि सबै घर खर्च हेरिरहेका थिए । तर अफसोस, एक दिन ती व्यक्ति यसरी गायब भए कि कहिल्यै फर्केर आएनन् । दुई छाक खानाको ठेगान नभएकी अडामाले ती बच्चालाई कसरी जन्माउने र जन्माएपछि कसरी हुर्काउने चिन्ताले सतायो ।
निकै थोरै रकममा बच्चाहरूको खरिद-बिक्री
अडामा जस्ता नैरोबी सहरका गल्ली र सडकमा आफ्नो बच्चा जन्माउन बाध्य आमाहरूका तीनै सन्तान तस्करहरूको सिकार हुन्छन् । तस्करहरू यी बच्चाहरूको बदलामा निकै थोरै रकम मात्रै दिन्छन् । एक त कम उमेरमा गर्भवती हुने, अर्को बुबाको ठेगान नहुनु र गास, बास, कपासको अभावका कारण कति आमाहरूले आफ्नो सन्तानलाई दुई हजारमा पनि बेच्ने गर्छन् ।
१७ वर्षमा आमा बनेर दुई हजारमा आफ्नो सन्तान बेचेकी सारा भन्छिन्, “त्यसबेला म धेरै जवान थिएँ, मैले केही गलत गरिरहेको जस्तो मलाई लागेन् । ५ वर्षपछि मलाई त्यसले पिरोल्न थाल्यो । म ती महिलालाई उसले दिएको पैसा फिर्ता गरेर आफ्नो सन्तान लिन चाहन्थे ।” विद्यालय पढ्ने १५, १६ वर्ष उमेरका केटीहरू धेरैजसो यसको सिकार हुने गरेका छन् । किशोरावस्थामा गर्भवती हुने अफ्रिाकाका धेरै देशहरूमध्ये केन्या पनि एक हो ।
कोरोनाले झनै विकराल अवस्था
स्वास्थ्य विज्ञहरूका अनुसार कोरोना महामारीकालमा अवस्था झनै नाजुक भएको छ, किनभने जीविकोपार्जनका लागि महिलाहरू यौनकर्मी बन्न बाध्य छन् । विद्यालय बन्द भएका कारण यसको असर किशोर केटीहरूमा पनि नराम्रोसँग परेको छ ।
केन्यामा मानवअधिकार वकिल तथा बाल सुरक्षा र प्रजनन् अधिकारका विशेषज्ञ प्रुडेंस मुतिसो भन्छन्, “मैले महिला र युवतीहरूको यस्ता धेरै कथा सुनेको छु । युवतीहरू कामको खोजीमा सहर आउँछन्, त्यसपछि पुरुषहरूसँगको सम्बन्धमा आउँछन्, गर्भवती हुन्छन् र बच्चाको बुबा हराउँछन् ।”
तब उनीहरू आफ्नो भोको पेट पाल्न र कसैले आफ्नो पहिलो सन्तानको पेट पाल्न त्यो बच्चालाई कम मूल्यमा भएनी बेच्ने गर्छन् । केन्यामा अडामाजस्तै कठिनाइमा फसेका महिलाहरू कैयौं कारणले तस्करहरूकहाँ पुग्छन् । केन्यामा बच्चालाई कुनै खतरा नभएको वा आमाको जीवन बचाउन जरुरी नभएसम्म गर्भपतन गर्न गैरकानुनी हो ।
जसका कारण गैरकानुनी खतरनाक विकल्प नै उनीहरूको रोजाइमा पर्छन् । यसका साथै केन्याको ग्रामीण क्षेत्रमा यौन सम्बन्ध र प्रजनन् स्वास्थ्यजस्ता विषयमा सजगताको अभाव छ । कानुनी तरिकामा बच्चा अपनाउने प्रक्रियाबारे पनि जागरुकता कम छ ।
अडामा पनि आफ्नो पेटमा हुर्किरहेको ६,७ महिनाको बच्चालाई लिएर आत्महत्या गर्ने वा गर्भपतन गराउने सोचमा थिइन् । त्यसैक्रममा उनको भेट एक मैरी एउमासँग भयो । उनी बस्तीमा गैरकानुनी स्ट्रिट क्लिनिक खोलेर बसेकी थिइन् । जसको काम भनेकै लुकाएर गर्भाधारण गराउने र त्यहीबाट गैरकानुनी तरिकामा बेच्ने ।
उसले अडामालाई पनि सात हजार दिने र उसको बच्चा सन्तान नभएको दम्पतीलाई बेचिदिने भनिन् । तर अडामाले पछि थाहा पाइन् कि ती महिलाले तस्करसँग करिब ३० हजारको सम्झौता गरेकी थिइन् । र उनको बच्चा कुनै दम्पतीलाई बेच्न लागिएको होइन । त्यसपछि अडामा त्यहाँबाट भागिन् र बच्चालाई सरकारी चिल्ड्रेन होममा लगेर राखिदिइन् ।
जुत्ता पसल खोल्ने सपना
अडामा अहिले २९ वर्षकी भइन् । अहिले उनी आफ्नै गाउँमा सुखदुःख गरेर बसिरहेकी छिन् । तर उनको सपना भनेको नैरोबीबाट ल्याएर त्यहाँ गाउँमा जुत्ता पसल खोल्नु रहेको छ ।
अडामालाई चिल्ड्रेन होममा छाडेको आफ्नो सन्तान त्यही छ वा कोही सन्तान नभएका दम्पतीले लगि सक्यो थाहा छैन । तर पनि उनी आफ्नो बच्चा त्यसरी गैरकानुनी रुपमा बेच्नुभन्दा त्यहाँ छोडेर आएकामा खुसी छिन् । भलै ऊ आफ्नो सन्तानबाट टाढिएर बस्नुपरेको छ ।
(जोएल गुन्टररबीबीसी अफ्रिका आईको रिपोर्टबाट सम्पादित अंश)






