‘आकाश–पाताल खाेजेर यति जना चिनी उद्याेगी समातियो भन्नुपर्‍याे’

जनपत्र
२ पुष २०७७, बिहीबार १८:४३

काठमाण्डाै – उखु किसानको भुक्तानी नदिने उद्योगीहरूलाई कडा कारबाही गरी पैसा असुल गर्नुपर्ने सांसदहरूले बताएका छन् ।

सङ्घीय संसद्को प्रतिनिधि सभाअन्तर्गतकाे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै सांसदहरूले उद्योगीलाई कारबाही गरी उखु किसानको बक्यौता रकम तिराउनुपर्ने बताएका हुन् ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले उखु उद्योगबाट आम्दानी गरेको रकम अन्य व्यवसायमा लगानी गर्ने तर किसानलाई पैसा नदिने उद्योगीलाई ब्याजसहितको रकम तिराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यलाई विभिन्न बहाना गरेर पैसा नतिर्ने र त्यो पैसाले अरू व्यवसाय गर्ने भएकाले उद्योगीले पैसा नतिरेका हुन् । उखु किसानलाई ब्याज तिर्नुपर्छ । किसानले घर जग्गादेखि बिउ बिजनसम्म ब्याजमा लिएर किनिरहेका छन् । उखु किसान चाहिँ माइतीघरमा आएर रोइ रहनुपर्ने ? उद्योगीले किसानलाई ब्याज तिर्नुपर्छ ।’

बैठकमा कांग्रेस सांसद भीमसेनदास प्रधानले उद्योगीको सम्पत्तिबाट भए पनि किसानलाई भुक्तानी दिलाउनुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद अमृतादेवी अग्रहरीले एक वर्ष पहिला पनि उखु किसानको आन्दोलन भएको स्मरण गर्दै त्यति बेला सरकारलाई निर्देशन दिएको भए पनि सरकारले मौनता साँधेको आरोप लगाउनुभयो । राज्यले उखु किसानको समस्या र चिनी मिललाई प्राथमिकताका साथ हेर्नुपर्ने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उखु किसानलाई राज्यले संरक्षण दिएन भने चिनी मिल बचाउन सकिँदैन । पहिलो प्राथमिकता उखु किसानलाई दिनुपर्छ ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णकुमार श्रेष्ठले उखु किसानमाथि अत्याचार भएको भन्दै उद्योगीहरूलाई केही घण्टा समय दिएर पक्राउ गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गोदाममा चिनी छैन रे, चिनी त बेचिसकियो होला त्यो पैसा खोइ ? अत्याचार भयो किसानलाई, अब दिनको कुरो होइन, घण्टाभित्रमा पक्राउ गर्नुपर्‍याे । साँवासम्म दिलाउँ । आकाश–पत्ताल खोजेर यति जना समातियो भन्नुपर्‍याे ।’

सांसदहरूले उखु किसानको समस्या दीर्घकालमा नआउने गरी समाधान गर्नसमेत माग गरेका छन् । उनीहरूले अहिलेको समस्या तत्काल समाधान गरी किसानलाई घर फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*