नेपाली सेनाका अधिकृत २१ वर्षीय पिटर थापाले बेलायतमा अन्तर्राष्ट्रिय सम्मान पाए

नेपाली सेनाका एक अधिकृत बेलायतमा अन्तर्राष्ट्रिय सम्मान पाउन सफल भएका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा घर भएका २१ वर्षीय पिटर थापालाई बेलायतको स्यान्डहस्टस्थित सैनिक महाविद्यालयले यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी पुरस्कार स्वरुप अन्तर्राष्ट्रिय ‘तरबार’ प्रदान गरेको हो।
हरेक वर्ष विश्वका विभिन्न देशका सैनिक अधिकृतलाई वर्षभरि दिइने तालिममा अग्रथानमा आउने थापा नै नेपाली सेनातर्फबाट पहिलो अधिकृत हुन्। नेपालको सैनिक महाविद्यालयमा अधिकृत क्याडेट तालिमबाट सर्वोत्कृष्ट हुनेलाई सेकेन्ड लेफ्टिनेन्ट बनाई बेलायतमा हुने त्यस प्रकारको तालिममा पठाइन्छ। थापा दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका थिए।
सम्मान पाएसँगै उनी आवश्यक परे बेलायती सेनाका जवानलाई तालिम दिने प्रशिक्षकका रुपमा समेत योग्य भएका छन्।सम्मान तथा समापन कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी तथा अन्य कर्मचारीको सहभागिता थियो। रासस