मनहरी गाउँपालिकाद्वारा जाँडरक्सी र जुवातास नियन्त्रण गर्ने गरी बिधेयक पारित

जनपत्र
२२ चैत्र २०७५, शुक्रबार १७:१०

मकवानपुर / मनहरी गाउँपालिकाले हिउँदे अधिवेसन सम्पन्न गर्दै जाँडरक्सी र जुवातास नियन्त्रणको प्रयास गरेको छ । मनहरी गाउँपालिका केन्द्र रजैयास्थित चाणक्य आश्रममा शुक्रबार भएको चौथो गाउँसभाले जाँडरक्सी र जुवातास लगायत बिकृति नियन्त्रण गर्नका लागि सामाजिक व्यवहार सुधार सम्बन्धी बिधेयक पारित गरेको छ । केही दिनअघि गाउँपालिकाका ९ वटै वडामा पुगी गाउँपालिकाले जाँडरक्सी तथा जुवातास नियन्त्रणबारे सुझाव संकलन गरेको थियो । संकलित सुझाव बमोजिम निर्माण भएको सामाजिक व्यवहार सुधार बिधेयक चौथो गाउँसभाबाट पारित गरिएको अध्यक्ष एकराज उप्रेतीले बताए ।

बिधेयकमा व्यवस्था भए बमोजिम अब गाउँपालिका क्षेत्रभित्र सम्बन्धित निकायबाट अनुमति पाएका पसलहरुले साँझ ५ बजेदेखि ८ बजेसम्म मात्र मदिरा बिक्रीबितरण गर्न पाउनेछन् । त्यसैगरी ऐनले विवाहमा १ हजार रुपियाँभन्दा बढी नगद वा जिन्सी उपहार स्वरुप दिन नपाउने व्यवस्था गरिएको छ भने रकम तोकेर सप्ताह, महायज्ञ लगायत कार्यहरुमा चन्दा माग्नका लागि निषेध गरेको छ । जन्मदिन लगायत उत्सवहरुमा आफ्ना आफन्तहरुको निम्तो गर्दा २५ जनाभन्दा बढी हुन नहुने पारित भएको बिधेयकमा उल्लेख छ ।


गाउँसभामा पेस भएको बिधेयकलाई गाउँसभाका सदस्यहरुले सुझावसहित पारित गरेका थिए । पारित भएको बिधेयकलाई अध्यक्षले प्रमाणिकरण गरी राजपत्रमा प्रकाशन भएपछि लागू हुनेछ ।
गाउँसभाले स्थानीय स्वास्थ्य तथा सरसफाई सम्बन्धी बिधेयक पनि पारित गरेको छ भने यसअघि कार्यान्वयनमा आएको आर्थिक बिधेयक र बिनियोजन विधेयकलाई संशोधन गरेको छ । संशोधन प्रस्ताव तथा २ वटा विधेयक छलफलका लागि बिधेयक समितिका संयोजक आनन्द घलानले सभासमक्ष पेस गरेका थिए ।
यसैबीच मनहरी गाउँपालिकाले प्रक्षेपण गरेभन्दा बढी आन्तरिक आय बृद्धि गरेको छ । मालपोत, सिफारिस दस्तुर लगायत आर्थिक ऐनले व्यवस्था गरेका शीर्षकहरुबाट चालू आर्थिक बर्षको ८ महिनाको अबधिमा ४७ लाख ३२ हजार ५ सय ७० रुपियाँ संकलन भएको छ । त्यसैगरी ढुंगा, गिटी, बालुवा निकासीबाट १५ करोड, १२ लाख ८९ हजार ४७ रुपियाँ समेत गरी कूल १५ करोड ६० लाख २१ हजार ६ सय १३ रुपियाँ आन्तरिक आयतर्फ रकम संकलन भएको छ । ८ महिना अबधिमा सोचेभन्दा राम्रो अर्थात ९१ प्रतिशत आन्तरिक आय हासिल गरेको गाउँपालिकाले अब आगामी ४ महिनामा १ सय ५० प्रतिशत आयबृद्धि हुने अनुमान गरिएको अध्यक्ष उप्रेतीले बताए । यद्यपि चालू आर्थिक बर्षमा गाउँपालिकाले १७ करोड ५ लाख ३४ हजार आन्तरिक आय हुने प्रक्षेपण गरेको थियो ।
बित्तीय प्रगतितर्फ बिनियोजन भएको रकम चालुतर्फ २५ करोड २५ लाख ५७ हजार भएकामा १३ करोड, ९६ लाख, ८८ हजार ५ सय ७० रुपियाँ खर्च भएको छ । त्यसैगरी पुँजीगत खर्चतर्फ २५ करोड ७९ लाख ४६ हजार रुपियाँ बिनियोजन भएकामा ३ करोड ७७ लाख ८४ हजार १ सय ५३ रुपियाँ खर्च भएको छ । प्रतिशतमा यो खर्च १४ प्रतिशत मात्रै हो । यद्यपि चैत १५ गतेसम्मको अबधिमा यो प्रतिशत बढेर ३५ पुगिसकेको अध्यक्ष उप्रेतीले बताए ।
गाउँपालिकाले गाउँसभामार्फत सामाजिक व्यवहार सुधार ऐन निर्माण गरी जुवातास र मदिरा नियन्त्रणका लागि महत्वपूर्ण उपलब्धी हासिल गरेको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताइन् । गाउँसभासभा प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले प्रशासनिक व्यवस्थापन गरेका थिए भने पत्रकार तथा दर्शक दीर्घाको व्यवस्थापन गरी सभा सञ्चालन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*