भाषा र सीप सिकेर जानुहोस्, विदेशमा दुःख मात्र हैन सुख पनि छ

जनपत्र
२५ मंसिर २०७७, बिहीबार ११:१२

काठमाण्डौ – घरको काम गरेकै हो । बोल्न जानेकै हो । तर त्यही गरिरहने काम र बोलिरहने भाषा काम नलागेको दिन कस्तो होला ? आजभन्दा १७ वर्षअघि कुवेत पुगेर यस्तै अनुभव गर्नुभएकी सुनसरीकी दिलु गजमेर भन्नुहुन्छ, मरेतुल्य हुने रहेछ । त्यसैले त १७ वर्षपछि पनि उहाँलाई लाग्ने गर्छ, ‘सीप र भाषा सिकेर जान पाएको भए !’

तर त्यो बेला परदेशमा दुई चार पैसा कमाउने दिलुको आशमा मलजल गर्दै एजेण्टले ढाँटेका थिए – अफिसभित्रै बस्नुपर्ने काम हो, कमाइ पनि टन्न हुन्छ । त्यो बेला न अहिलेजस्तो परदेशका बारेमा जानकारी लिने ठाउँ थियो, न त के सही के गलत भनिदिने कोही । दिलुसँग एक मात्र विकल्प उनै एजेण्टको कुरामा विश्वास गर्नु नै थियो ।

सपनाको ठूलो पोकोसहित सन् २००३ मा बम्बईको बिमास्थलबाट एजेण्टले कुवेत पठाइदिए । न श्रम स्वीकृति लिनुभएको थियो, न त उहाँ कुवेत गएको हो भन्ने रेकर्ड सरकारसँग भयो । जे भए पनि राम्रै कमाउने उहाँको धोको थियो ।

स्वदेशमा कल्पना गरेको परदेश र भोग्दाको परदेश एकै किन हुन्थ्यो र ! एजेण्टले भन्न त अफिसकै काम भनेका थिए । त्यहाँ पुगेपछि काम घरमा पर्‍यो  ।

न काम जान्नु, न त घरका मानिसले बोलेको भाषा बुझ्नु । दिलुले भाषा र घरकै काम गर्ने सीप नहुँदा सोच्दै नसोचेको अप्ठेराहरु सहनु पर्‍यो । कमाउन सपना उतै बिसाएर झण्डै एक वर्ष दुःख र हण्डर खेपेर फर्कन पर्‍यो ।
‘भाषा र सीप नसिकी विदेश जानु भनेको मर्न जानु सरह रहेछ, न उनीहरुले भनेको बुझ्ने न आफूले नजानेको कुरा सोध्न सकिने’ दिलु आफ्नो भोगाइ सम्झंदै भन्नुहुन्छ, ‘भाषा र काम नजान्ने भएपछि त्यहाँ मानिसले मानिसलाई मानवताको व्यवहार गर्दा रहेनछन् ।’

घरपरिवार छाडेर परदेश जानु, त्यसमाथि काम र भाषा नबुझ्नु । दिलुको भोगाइमा घरेलु श्रममा जानेलाई त्यहीँबाट हिंसा सुरु हुन्छ र श्रम शोषण हुन थाल्छ ।

काम गर्ने ठाउँमा सही व्यवहार नहुँदा परदेशिनेलाई पनि गाह्रो हुन्छ । एकातिर परिवारबाट टाढा हुँदाको चिन्ता हुन्छ भने अर्कोतर्फ काम नजान्दा रोजगारदाताले दिने तनाब । यी दुवै कुरालाई सहेर र त्यसबाट सिकेर अघि बढ्न नसके चरम हिंसा र दुव्र्यवहार भोग्नुपर्ने परिस्थिती पनि आउन सक्छ ।

त्यसैले पनि परदेशिने तयारी गरिरहेकालाई दिलुको पहिलो सुझाव छ – सीप र भाषा सिकेर जानुहोस्, आफू जाने देश र त्यहाँको भेशबारे राम्रोसँग जानकारी राख्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*