रोयल्टीको लोभमा चुरे क्षेत्रका खोलानालाको दोहन

जनपत्र
२४ मंसिर २०७७, बुधबार ११:३९

कञ्चनपुर – कञ्चनपुरको चुरे तथा वन आसपासका खोलानालाहरुमा रोयल्टीको प्रलोभनमा मापदण्ड विपरीत उत्खनन भइरहेको छ । पालिकाहरुले रोयल्टीको प्रलोभनमा गिट्टी बालुवा उत्खननका लागि ठेक्का गरेपछि चुरेमा दोहन बढ्दै गएको हो ।

कसरी हुँदैछ अवैध उत्खनन ?

कञ्चनपुरमा पछिल्लो समय सरकारले जारी गरेको मापदण्डलाई कुल्चिएर रोयल्टीको लोभमा पालिकाहरुले प्रतिबन्धित क्षेत्रबाट ढुङ्गा, गिट्टी उत्खनन गर्न अनुमति दिने गरेका छन् । कतिपय पालिकाले प्रारम्भिक वातावरण परीक्षण गरेको आधारमा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिएका हुन भने कतिपय पालिकामा वडा कार्यालय र नगरपालिका स्वयम्ले रोयल्टी उठाएर उत्खनन गरिरहेका छन् ।

चुरे लगायतका नदी तथा खोलानालामा गरिएको उत्खननमा कतै पनि मापदण्ड पूरा भएको देखिंदैन । जसले गर्दा पालिकाहरुले नै ठेक्का तथा अनुमति दिएका नदी तथा खोलानालाबाट उत्खनन गरिरहेको अवस्थामा स्थानीय प्रशासन र डिभिजन वन कार्यालयले ब्याकोलोडर, टिप्पर तथा ट्याक्टर लगायतका उपकरण नियन्त्रणमा लिंदै आएका छन् ।

सोमबार मात्रै कञ्चनपुर प्रहरीले मापदण्ड विपरीत उत्खनन गरिरहेको अवस्थामा बेदकोट नगरपालिका ४ स्थित बगुन खोलाबाट ६ वटा ब्याकोलोडर नियन्त्रणमा लिएको छ । यस्तै, एक साताअघि डिभिजन वन कार्यालयले शुक्लाफाँटा र कृष्णपुरको सीमा बनहरा नदीमा रातीको समयमा अवैध उत्खनन् गरिरहेका सात वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । त्यति मात्रै होइन भीमदत्त नगरपालिका ३ स्थित खन्ने खोलामा रोयल्टी उठाएर चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी उत्खनन गर्न अनुमति दिएको भन्दै वडा कार्यालयलाई वनले सचेतपत्र गराएर छोडेको छ ।

यी त पछिल्लो एक महिनामा कञ्चनपुरमा भएका अवैध उत्खननमा स्थानीय प्रशासनले गरेका हस्तक्षेपका प्रतिनिधि घटना मात्रै हुन् । यसरी चुरेलगायतका खोलानाला तथा नदीहरुमा महिर्नौैदेखि दर्जनौ ब्लाकोलोडर र स्काभेटर प्रयोग गरी उत्खननको कार्य भइरहेको छ । जसमा प्राकृतिक सम्पदाको दोहनमा स्थानीय तहहरु नै संलग्न देखिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*