कोरिया छाेडेर खोरिया खन्दा मासिक डेढ लाख आम्दानी, एक बोटमै १० किलो टमाटर

जनपत्र
२१ मंसिर २०७७, आईतवार १८:४५

अर्घाखाँची – हाइटेक प्रविधिमा लटरम्म टमाटर फलेपछि सन्धिखर्क नगरपालिका–१० बेलटारीका कृषक खिमबहादुर पाण्डे (बाबुराम) दंग हुनुहुन्छ ।

व्यावसायिक कृषि पेशा अंगाल्नुभएका खिमबहादुरले प्रविधिमैत्री बन्नुपर्छ भनेर हाइटेकमा टमाटर खेती गर्नुभयो । अहिले उहाँको बारीमा लटरम्मै टमाटर फलेका छन् ।  उत्पादित टमाटर बेच्नको लागि बजारको पनि समस्या छैन् । ८० देखि एक सय रुपैयाँ किलोमा टमाटर बिक्री भैरहेको छ । झण्डै ८ सय टमाटरका बिरुवाबाट  उहाँले ८ टन भन्दा बढी टमाटर उत्पादन हुने अनुमान गर्नुभएको छ ।

रोजगारीको लागि कोरिया जान ९ वर्ष अघि खिमबहादुरको भिसा लागेको थियो । कृषि भिसामा कोरिया जानुभन्दा आफ्नै माटोमा केही गरेर देखाउँछु भनेर आफू कृषि पेशामा लागेकाे उहाँले बताउनुभयो ।

‘शुरुमा त कोरियाको भिसा छाडेर खोरियामा कृषि गर्छु भन्दा सबैले खिसी गरे,  अहिले सबैले स्याबासी दिन्छन्’, पाण्डेले खुसी हुँदै भन्नुभयो, ‘आफ्नै देशमा यति गर्न सके त विदेश जानै परेन नि ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*