घरायसी कामले बिग्रियो छोरीको पढाइ

जनपत्र
२० मंसिर २०७७, शनिबार ०७:५६

कैलाली – टीकापुर नगरपालिका-एकतानगरकी पुष्पा सन्न्यासी कक्षा ६ मा अध्ययनरत छिन् ।

कर्णाली मावि टीकापुरमा अध्ययनरत उनी विद्यालयबाट फर्केपछि घर सफा गर्ने, भाँडा कुँडा माझ्ने र कपडा धुने लगायत घरायसी काममा आमालाई सघाउँछिन् । यसले उनको पढाइमा असर पुर्याएको छ । ‘म घरमा आमालाई सबै काम सघाउँछु, मेरा दाजुभाइले मैलेजस्तो घरको काम गर्दैनन्’, पुष्पाले भन्नुभयो, ‘आमाको धेरै काम हुन्छ । घरको काम सकेर राति आफ्नो गृहकार्य गर्छु । कहिलेकाहीँ गर्न भ्याउँदिन ।’

कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना विकलाई  विद्यालयपछिको समयमा घरको काममा खट्नुपर्छ । उनी आमासँगै घाँसदाउराको काममा समेत जान्छिन् । उनका दाजुभाइले पनि घरको काम गर्नुपर्दैन । ‘म आमासँगै सबै काम गर्छु । खाना पकाउन, घर सफा गर्न, घाँस काट्न सबै काम सिकिसकेँ’, सम्झनाले भन्नुभयो, ‘छोरीले काम सिक्नुपर्छ, नत्र पछि दुःख पाइन्छ भन्छन्, घरको काम गर्दा घरमा त्यति पढ्न पाइँदैन ।’

त्यस्तै कक्षा ८ मा अध्ययनरत छात्रा सुधा धामीका दुई दाजुभाइ छन् । उनका दाजुभाइले घरको काम पटक्कै छुनु पर्दैन । उनीहरु विद्यालयबाट फर्केपछि कि गृहकार्य गर्छन्, नभए नजिकै रहेको खेल मैदानमा खेल्न जान्छन् ।  उनी विद्यालयबाट फर्कँदा घरमा काम थुप्रिसकेको हुन्छ । ‘म विद्यालयबाट फर्कन्छु, खाजा खाएर घाँस काट्न जान्छु, अनि साँझ खाना पकाउने जिम्मा मेरो हुन्छ’, सम्झनाले भन्नुभयो, ‘आमाले गाईभैँसी स्याहार गर्नुहुन्छ । दाजुभाइलाई काम गर पनि भन्नुहुन्न । म अधिकांश दिन गृहकार्य नगरेरै विद्यालय जान्छु । कहिलेकाहीँ त जानै मन लाग्दैन ।’

समाजमा अहिले पनि छोरी विवाहपछि अर्काको घर जाने भएकाले उनको कमाइ अरुले खान्छ भन्ने गलत बुझाइले शिक्षामा विभेद गरिन्छ । कानुनले शिक्षामा समान हकको व्यवस्था गरे पनि अभिभावकले नबुिझदिँदा छोरा र छोरीलाई दिइने शिक्षामा विभेद रहेको छ । छोरीहरुलाई घरको काममा छोराभन्दा बढी लगाइँदा उनीहरुको पढाइमा समेत असर परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*