देशैभर विमानस्थल विस्तार र स्तरोन्नतिमा सरकारको ध्यान

सरकारले देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ । पर्यटन क्षेत्रको विकाससँग गाँसिएको विमानस्थललाई विशेष प्राथमिकतामा राखेर सरकारले यसको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिएको हो ।
यस क्रममा अहिले देशैभरका विमानस्थलमा विकासनिर्माण कार्यले तीव्रता लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशैभर विमानस्थलको विस्तार तथा स्तरोन्नति कार्यलाई सरकारले विशेष प्राथमिकता दिएको बताए । पर्यटनको विकासका लागि हवाई ‘कनेक्टिभिटी’ महत्त्वपूर्ण हुने हुँदा सरकारले विमानस्थलहरूको निर्माण, विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको उनले स्पष्ट पारे ।
नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको जहाज पार्किङस्थलको मङ्गलबार उद्घाटन गर्नुहुँदै मन्त्री भट्टराईले राजधानी बाहिरका सबैभन्दा बढी उडान हुने विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया पनि अघि बढाइसकिएको बताए । नेपालगञ्ज विमानस्थलमा आठवटा एटीआर र चारवटा ट्विनअटर विमान सहज रूपमा पार्किङ गर्ने गरी जहाज पार्किङस्थल निर्माण गरिएको उनले प्रस्ट पारे ।
यो पार्किङस्थल एयर बस ३२० समेत पार्किङ गर्न मिल्ने गरी निर्माण गरिएको जनाउँदै उनले यसैबाट सरकारले यस विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजेको प्रमाणित गरेको बताए । सरकारले नेपालगञ्ज र विराटनगर विमानस्थललाई हब विमानस्थलका रूपमा विकास गर्न गुरुयोजना बनाएर अगाडि बढेको पनि उनले जानकारी दिए ।मन्त्रिपरिषद्ले यी दुवै विमानस्थलका गुरुयोजनालाई पारित गरिसकेको छ । अन्तरदेशीय उडानलाई बढाउन तथा देशका सबै ठूला सहरलाई हवाई यातायातसँग जोड्न सरकारले विमानस्थल निर्माण र विस्तार गर्ने कार्यमा विशेष ध्यान दिएको छ, उनले भने, “अब यो कार्यमा प्रदेश र स्थानीय सरकारको पनि लगानी र हातेमालो आवश्यक देखिएको छ ।”
नेपालगञ्ज विमानस्थलले पश्चिम नेपालका अधिकांश पहाडी र हिमाली जिल्लालाई हवाई यातायातमार्फत जोडेकाले पनि यो विमानस्थलको विस्तार र स्तरोन्नति महत्त्वपूर्ण रहेको उनले बताए । क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सरकारले नेपालको नयाँ हवाई नीति निर्माण गरिरहेकाले त्यसपछि देशको हवाई यातायातमा नयाँ आयाम थपिने बताए ।
२०७५ साल कात्तिक १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले शिलान्यास गर्नुभएको सो जहाज पार्किङस्थललाई २८ करोड ५३ लाख रुपियाँको लागतमा निर्धारित समयमै निर्माण गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । गोरखापत्रमा खबर छ ।