मकवानपुरमा सामान्यरुपमा लिन खोजिँदै कोरोना, लक्षण देखिएपनि जाँच गराउन जाने सख्यामा कमी

जनपत्र
१६ मंसिर २०७७, मंगलवार ०६:२०

हेटौंडा/विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व नै अस्तव्यस्त बनिरहेको छ । अन्य देशसंगै नेपाललाई पनि यसले आक्रान्त बनाइरहेको छ ।

दिनहुँजसो हजारौंको दरमा संक्रमित बढिरहेका छन् । केही समय मन्थर रहेको मकवानपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । तर, अहिले कोरोनाको सबै खालका लक्षण देखिएपनि जाँच गराउन भने कमै मात्र जाने गरेका छन् । कोरोना सामान्य रहेछ । केही हुँदैन, जाँच गरौं । यदि कोरोना पुष्टि भयो भने कोरोना बिमाको पैसा पाइन्छ भन्ने मनसायले पनि कोरोना परीक्षण गर्नेको संख्या बढेको हो कि भन्ने आममानिसको ठम्याई छ ।

आजभोलि स्वाब दिन आउनेको संख्या बढेको छ । त्यसकारण कोरोना संक्रमण दर पनि बढ्दै गएको छ,’ हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागार्इंले भने । उनका अनुसार कोरोना बिमाप्रतिको आकर्षण, स्वास्थ्य सावधानीमा लापरबाही तथा स्थानीय सरकारको कमजोरीका कारण कोरोना परीक्षण गर्नेको चाप बढेको हो । जाडो सुरु भएपछि रुघाखोकी लाग्ने मौसम भएको र रुघाखोकी तथा सामान्य ज्वरोको समयमा कोरोना पुष्टि हुने गरेको उनले बताए । कोरोनास“ग लड्न पहिलो प्राथमिकतामा राखिनुपर्ने स्वास्थ्य मापदण्ड नै पछिल्लो समय लागु हुन छाडेको स्वास्थ्यविज्ञहरु बताउँछन् ।

लकडाउन तथा निषेधाज्ञा हटेपछि हरेक ठाउँमा भिडभाड बढेको छ । भौतिक दुरी, अनिवार्य मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य मापदण्ड पालना गरेको पाइदैन । कोरोना भनेको केही होइन । कोरोना लाग्दैमा केही हुँदैन भन्ने सोचका कारण मकवानपुरमा कोरोना संक्रमण फैलदै गएको छ । हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित धेरै भेटिएका छन् । मकवानपुरमा केही दिनदेखि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । तर, सरकारी निकाय भने अझै मौन छ । थोरै संख्यामा संक्रमित भेटिँदा निषेधाज्ञा गर्ने स्थानीय प्रशासनले कोरोना रोकथामका लागि खासै पाइला चालेको पाइन्न ।

मास्क नलगाउनेलाई जरिवानासमेत गराएर अनिवार्य मास्क प्रयोग गर्न जोड दिने जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य मापदण्ड पालना गराउन ‘निर्देशन’ दिँदै आएको जिल्ला प्रशासन कार्यालयलगायत जिम्मेवार निकाय पछिल्लो समय मौन देखिएका छन् । मास्क नलगाउँदा जरिवाना तिराउने प्रहरी प्रशासनले पछिल्लो समय मास्क लगाउन दबाब दिनसमेत छाडेको देखिन्छ ।

सवारी साधनदेखि सरकारी कार्यालय, बजार, पसललगायत स्थानमा हुने भिडभाडमा अलिकति पनि भौतिक दुरी देखिदैन । कोरोना भाइरसको लक्षण देखिएपछि परीक्षणका लागि स्वाब दिएपछि स्वास्थ्य मापदण्ड पालना नगर्दा पनि संक्रमण बढिरहेको छ । नेपालमा पहिलो चरणमा कोरोना संक्रमण देखिदा कोरोना लक्षण देखिएकालाई आइसोलेसनमा केही दिन राखेर परीक्षण गरेर रिपोर्ट आएपछि मात्र घर पठाउने गरिएको थियो ।

तर, हाल संक्रमण संख्या तीव्र बढिरहँदा संक्रमितहरु होम आइसोलेसनमा रहनु परेको छ । लक्षण देखिएर, परिवारका सदस्यमा पुष्टि भएर वा संक्रमितको सम्पर्कमा आएकामा कोरोना परीक्षणका लागि स्वाब परीक्षणको लागि दिएपछि व्यक्ति स्वयम् सचेत हुनुपर्ने हो । तर, स्वाब दिएका अधिकांश सचेत नहसँदा संक्रमण फैलने सम्भावना छ ।

केही समयअघिसम्म घरका एक व्यक्तिलाई कोरोना संक्रमण भयो भने घरका अन्य सदस्यहरु पनि होम आइसोलेसनमा बस्नुपर्ने थियो । पछिल्लो समय कोरोना संक्रमित स्वयम् लापरबाही गर्दै हि“ड्ने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनासंग बच्न एउटै उपाय भौतिक दुरी नै ठीक हुने बताउँदै आएको छ । तर, यसतर्फ न स्थानीय सरकारको नजर परेको छ न त समुदायमा नै चेतना पुगेको छ । कोरोना संक्रमण दर रोक्ने जिम्मेवारी कस्को ? यही प्रश्न सबैको मनमा उब्जेको पाइन्छ । तर, स्वास्थ्य मापदण्ड पालना नगर्दा भयावह स्थिति आएको र यसभन्दा पनि ठूलो रुप आउन सक्छ भन्ने कुरा कस्ले बुझ्ने ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*