योजना छनोटसम्बन्धी विधि तयार नहुँदा समस्या : मुख्यमन्त्री पौडेल

जनपत्र
१४ मंसिर २०७७, आईतवार १९:३९

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले योजना छनोटसम्बन्धी उपयुक्त विधि तयार नहुँदा विकास निर्माणका काममा समस्या उत्पन्न भएको बताउनुभएको छ ।

वाग्मती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको चालू आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा तथा प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री पौडेलले परम्परागत मानसिकताका कारण अन्तर सरकार, अन्तर मन्त्रालय तथा अन्तर कार्यालयबीच योजना निर्माण र बजेट वितरणमा प्रशस्त समन्वय हुन नसकेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले समस्याका बारेमा सरोकारवाला सबै भुक्तभोगी र जानकार भए पनि समस्या सुधार गर्न नसकिएको उल्लेख गर्दै देश विकास गर्न चाहने हरेकले आ–आफ्नो क्षेत्रबाट परम्परागत शैलीहरु सुधार गर्न आवश्यक योगदान दिनुपर्ने बताउनुभयो ।

उहाँले वाग्मती प्रदेश सरकारले प्रदेशका सबै क्षेत्रमा काम गरेको बताउनुभयो । पौडेलले प्रदेश सरकारले गरेको कामले धेरै वर्षदेखि सङ्घीय सरकारले गरेका कामलाई छायाँमा पार्न थालेको उल्लेख गर्नुभयो । प्रदेशको सडक, पुल तथा स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले प्रशस्त काम गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले विकास निर्माणमा सबैभन्दा बिग्रिएको पाटो नै समन्वय भएको बताउनुभयो । उहाँले मन्त्रालय मन्त्रालय तथा सरकार सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै समन्वयका लागि भूमिका निर्वाह गर्न सबै तयार हुनुपर्ने र आफू पनि आफ्नो क्षेत्रबाट तयार रहेको बताउनुभयो । उहाँले विकास निर्माणको कामलाई कोभिड–१९ ले प्रभाव पारेको बताउँदै यो वर्ष अर्थतन्त्रमा ह्रास आउने तर सबै निकायले उचित भूमिका खेलेर नोक्सानीको मात्रा कम गर्न सकिने धारणा राख्नुभयो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले परियोजना बैंकको उचित प्रयोग तथा व्यवस्थापनबाट मात्र योजना कार्यान्वयनमा सहजता थपिने धारणा राख्नुभयो । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकार सुविधाका हिसाबले गाउँ र शहरलाई समान बनाउने दिशातर्फ अग्रसर रहेको र धेरै हदसम्म सफल हुँदै गएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*