हेटौंडाका १४ सय बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदै

हेटौंडा । आज र भोलि राष्ट्रिय भिटामिन ए कार्यक्रमको सुरुवात गरिएको छ । आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडाको चौकीटोलमा पाँच वर्ष मुनीका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउँदै कार्यक्रमको सुरुवात गर्नुभयो ।
यसैगरी हेटौंडा ३ वसामाडीमा उपमेयर मिना कुमारी लामाले पाँच वर्ष मुनीका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाएर अभियान गर्नु भयो । देशैभरी सञ्चालन भएको यो अभियानमा आफ्ना सबै बालबालिकाहरुलाई सहभागि गराउनका लागि मेयर महतले आग्रह गर्नुभयो ।
हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडाका एक हजार ४ सय जना पाँच वर्ष मुनीका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी आज र भोली खुवाउन लागिएको हो । यसका लागि हेटौंडामा मात्र ९२ जना महिला स्वास्थ्य स्वयंसेविका खटिएका छन् । यसअघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो ।
सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ । तर यस पटक कोरोनाको जोखिमका कारण वैशाख महिनामा कार्यक्रम हुन सकेन ।
६ महिनाको अन्तरमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउनुपर्ने स्वास्थ्यकर्मीले वताएका छन् । कोरोना संक्रमणलाई ध्यानमा राख्दै महिला स्वास्थ्य स्वयंसेविकाले नियमित लिँदै आएको ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको पाखुराको नाप अहिलेलाई भने स्थगित गरिएको छ ।