पेट्रोल ट्यांकरमा फल्स चेम्बर ! निगमद्वारा १५ लाख रुपैयाँ जरिवाना
भारतबाट पेट्रोल लिएर आउने ट्यांकरभित्र फल्स चेम्बर बनाइएको पाइएको छ। बिर बेताल आशिर्वाद कम्पनीको नाममा रहेका दुईवटा ट्यांकरलाई खाली गरेर जाँच गर्दा फल्स चेम्बर बनाएको पाइएको नेपाल आयल निगमले जनाएको छ।
इन्डियन आयल निगमअन्तर्गत बरौनी रिफाइयनरीबाट पेट्रोल लिएर आएका ना ७ ख ३६९६ र ना ७ ख २९९५ नम्बरका ट्यांकरलाई निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटका कर्मचारीले खाली गरेर जाँच गरेका थिए।
निगमले १५ लाख रुपैयाँ बराबरको जरिवाना गरिएको र थप कारबाहीका लागि गुणस्तर तथा नापतौल विभाग र अन्य निकायलाई पत्राचार गरिएको जनाएको छ।






