ब्लगः आमाका रमाईला गफ

“अल्छ्याई नलिनु उँघीनरहनु
निद्रा नधेरै लिनु।
क्वैदेखि नडराउनू
रिसकतै कैल्यै नउठ्ने हुनु।।
धन्दा झटपट छिन्नु
फुर्ती रहनु
जुम्सोपना छाड्दिनु।
बिद्यामा धनमा पूरा हुनु परे
यहि बानी हरदम लिनु।।”
अब त यो श्लोक पनि कण्ठै भैसकेछ। विहान ढिला सम्म सुतिरहेको बेला होस् या अरूको कुरा चित्त नबुझेर रिसाएको बेला होस्, आमाको मुखबाट सुरूमै निस्कने वाक्य भनेकै यहि हो।
नातिनी पछि सम्म पनि अल्छि नै भैराख्ने भई, यस्तै गरी रिसाईराख्ने भई भने? ल अहिले त ठिकै छ, पछि बिहे गरेर पठाईसकेपछि पनि यस्तै अल्छि र रिसाहा भई भने? यहि कुरा सोचेर आमा पिरोल्लिन थाल्नुहुन्छ र यो श्लोक सुनाउन थाल्नुहुन्छ। मलाई भने आमाले भन्नुभएका श्लोक देखि लिएर कथा, अर्ति उपदेशहरू सबै सुन्न एकदमै रमाईलो लाग्छ।
हरेक दिन साँझ परेपछि लोड्सेडिङ्ग हुने गर्थ्यो। भान्साको त्यो पिलपिल बलिरहेको टुकि बत्तिको उज्यालोमा ममी खाना बनाउने सुरसार गर्दै गर्दा यता भान्साकै एउटा कुनामा पलेटि कसेर, चकटिमा बसेर कपासको बत्ति कात्न थाल्नुभएको हुन्थ्यो आमा। छरछिमेकमा खेल्न पुगेका हामी (भाई र म) साँझ परेपछि दौडिँदै घर फर्कने गर्थ्यौँ, अनी सिधै भान्सा भित्र पसेर, आमाको दायाँ र बायाँ पट्टि बस्ने गर्थ्यौँ।
“त्यो राजाको जेठो छोरा जङ्गलमा गएपछि के भयो त आमा? “, भन्दै हिजोको आधामै टुङ्गेको कथालाई निरन्तरता दिनको लागी आग्रह गर्थौँ। साँझ परेपछि कथा सुन्ने समय भयो भनेर हामी मख्ख परेका हुन्थ्यौँ।
” पहिला त्यो एक-एक गिलास दुध खाओ, अनी बल्ल भन्छु म कथा”, भन्दै आमाले भन्नुहुन्थ्यो। हामी भने कथा सुन्न हत्तार भएर छिटो-छिटो गर्दै, त्यो भर्खर उम्लेको तातो दुधलाई कचौरामा सेलाउदै पिउन थाल्थ्यौँ। अनी आमाले कथा भन्न सुरु गर्नुहुन्थ्यो।
आमाको कथा भन्ने तरिकामा छुट्टै किसिमको जादु हुन्थ्यो। छोटो कथालाई पनि लामो बनाएर, घुमाई-घुमाई भन्नुहुन्थ्यो।
“ला…. अब यसपछि के हुन्छ होला!! “,” अब त्यो राजकुमारलाई के हुन्छ होला?, “कस्तो अचम्म!! भ्यागुत्ता पनि राजकुमारमा परिणत हुने… ओहो।”
यस्तै-यस्तै कुरा सोच्दै कथा सुन्ने गर्थेँ म, सानो छँदा।
अनी भोलीपल्ट खेल्न जाँदा साथीहरूलाई त्यही कथा सुनाउने, साथिहरू पनि ‘ओहो…’ भन्दै ध्यान दिएर सुन्ने गर्थे।
सानै देखी आमाको कुराहरू सुन्न रमाईलो लाग्ने। आमाको कथा नसुनी निंद्रा नै नलाग्ने, हाम्री आमा जस्तो जान्ने र बुद्धिमानी कोही छैन होला यो संसारमा जस्तो लाग्थ्यो। अझ आमाको जमानाको कुराहरू सुन्न भनेपछि हुरुक्कै हुने म।
‘जत्ति बेला पनि अल्छी गर्छे! झन रिस त नाकको टुप्पोमै छ।अब त बिहे गर्ने उमेर पनि पुग्यो, यसलाई त बिहे गरेको दुई दिनमै फर्काएर ल्यादिन्छन् होला है। ल्याए भने हामीले के गर्ने होला”, भन्दै आमा र ममी कुरा गर्न थाल्नुहुन्थ्यो। जति बेलापनि बिहेकै कुरा गर्ने भनेर म रिसाउदै उठेर कोठाबाट निस्कन्थेँ।
“ठ्याक्कै म गोता गएकी छे! मलाई पनि बिहेको कुरा गर्यो भने यस्तै गरि झनक्क रिस उठ्थ्यो”, भन्दै हाँस्दै सुनाउनुहुन्थ्यो आमा।
आमा घरकी कान्छि छोरी भएको कारणले गर्दा कान्छि छोरीको माया लागेर, ढिला बिहे गराईदिनुभएको थियो रे। यो कुरा आमाले हामीलाई पहिल्यै सुनाउनुभएको थियो।
“आमाको बिहे कसरी भयो होला, पहिले आमाको जमानामा कसरी बिहे हुन्थ्यो होला..? ” यही कुरा जान्न मन लागेर आमालाई सोधेँ मैले: आमा पनि आफ्नो जमानाको कुरा सुनाउन भनेपछि फुरूङ्ग परेर सुनाउन थाल्नुभयो:
” आठै बर्ष माहा हुने छ गौरी
नौ बर्षकी रोहणी
कन्या नाम हुने छ दश बर्षमा
भन्थे ति धौम्यमुनी।।
ई तिन बर्षमा बिहा गरीदिए
मिल्ने छ फल धेर अती
दशमा नाग्न गई भनेर जब ती
हुनेछ त्यसको गती।।
एघारै जब बर्षकी रजबती
देख्यौ भने दिनदिन,
आमा बाबु र दाजु घोर नर्कमा
जान्छन् ति तिन का तिन।।
यस्ती पुत्री रहि भने घरमाहा
पाप मात्रै बढ्ने फगत
जेठो दाजु र बाबु का मुखमाहा
पर्ने छ केवल रगत।। “
उबेलामा छोरीको बिहे गर्नलाई दश बर्ष नगाउनै नहुने नियम छदाँ-छदै पनी बर्षदिन मै आमा बितेको टुहुरी र घरकै कान्छि छोरी भएको कारणले गर्दा आमाको बिहे सोह्र बर्षको उमेरमा भएको थियो रे। एकदमै ढिला।
‘अब गिताको बिहे गर्ने बेला भयो’, भन्दै बिहेको कुरा लिएर आउने मान्छेलाई ढुङ्गाले हानेर लखट्ने गर्नुहुन्थ्यो रे आमाले।
अब झनै उत्साहित भएर, “अनी के भयो त आमा?” भन्दै सोध्न थाले मैले।
“तेरो हजुरबा मलाई माग्न जाँदा मैले आफ्नो अनुहार पनि देखाईँन। बिहेको कुरा पक्का-पक्की भएपछि मैले बाईस् दिन सम्म एकछाक मात्रै खाएर बसेँ। कुरा छिनेको भएर बिहेको दिन सम्म म कोहि संग नै बोलीँन। ” आमाले भन्नुभयो।
अब हेर्दा हेर्दै बिहेको दिन पनी आयो। उबेला रात भरी बिहे भएर, एक रात बेहुलीको घरमै बास बसेर भोलीपल्ट अन्माईने गरिन्थ्यो। जग्गेमा बेहुला-बेहुली ले नै केही मन्त्र पढ्न पर्ने हुन्थ्यो। आफ्नो ईच्छा बिना नै बिहे गराईदिएको भनेर आमा रिसाएर कोहि संग नबोली, जग्गेमा मन्त्र पनि पढ्नुभएन रे।
केही नपढेको, केहि नबोलेको देखेर बेहुलाको बुबा ले केटी त लाटी पो रहिछे की क्या हो भन्ने सोचेर चिन्तीत हुनुभएछ।
बिहे सिद्धिएर, अन्माईसकेपछि, सुपिङ्ग देखी भिमफेदि सम्म बेहुलीलाई भरियाले बोकेर लगेका थिए। त्यतिबेला पुलिसको अड्डा भिमफेदीमै थियो।
त्यतिबेला सानो उमेरको केटीलाई ठुलो उमेरको केटालाई बिहे गर्न नपाईने र केटी जेठी र केटा कान्छो पनि हुने नहुने थियो रे। दुबै जना उस्तै उमेरको हुन पर्ने रे।
भिमफेदि अड्डा हुदै हिडेको जन्तिलाई पुलिसले “केटी त सानै देख्छु त! भनेर रोकेछ र बेहुली (आमा) लाई” तिमी कति उमेरकी भयौ भनेर सोधेछन्। बेहुलीले जवाफ दिनुभन्दा अगाडी नै ‘लोकन्ती’ ले “केटो सोह्र बर्ष र केटी अठार बर्ष” भनेर भन्दिछिन् । त्यसपछि पुलिसले बेहुला (बा) लाई ” हो त? कती बर्षको तिमी भनेर सोधेछन्, अनी “हैन म त अठार बर्षको हुँ, भनेर भन्नुभएछ।
” जुङ्गा को रेखी त बसेको छैन, काँ हुन्छ अठार बर्ष” भन्दै फेरी बेहुलीलाई सोध्न पुगेछन्, कति बर्षको भयौ भन्दै।
“म सोह्र बर्षको भएँ” आमाले भन्नुभयो।
” नानी, एकैछिन अड्डामा जाऔँ न त, हाम्रो हाकिमहरूले केहि प्रश्न सोधेर पठाउनुहुन्छ”, भनेर पुलीसले भनेछ।।
आमा झनक्क रिसाउदैँ चर्को आवाजमा “काँ जान्छु म अड्डा-अड्डामा, जाँदिन म!” भन्दै भन्नुभएछ ।आमाको चर्को आवाज सुनेर ” ओहो… दुलही त कडा पो रैछिन त हाहाहा….”, भन्दै हाँस्दै पुलीस फर्केर गएछ। त्यो सुनेर हजुरबुबा (बेहुलाको बुबा) मुर्छा परेर हाँस्नुभएछ:
” मैले त दुलहि लाटी पो रैछिन भन्ठानेको त! दुई चोटी सम्म माग्न जाँदा पनि केटी त बोलेकी थिईन, बिहेमा मन्त्र पनि पढेकी थिईन। अहिले बल्ल आवाज सुन्न पाईयो, बाठी पो रहिछे त हाम्री दुलही”, भन्दै हाँस्दै हिड्नुभएछ।
पच्चिस् साल, बैशाख तेह्र गतेको बिहे, जतिबेला पनि पानी पर्न सक्ने। अहिले जस्तो बस, गाडिहरू केहि नचल्ने, फाट्फुट्ट एक दुई वटा बस, ट्रकहरू चल्ने गर्थ्यो। बाटोमा हिँड्दा-हिँड्दै हुरि बतास चलेर पानी पर्न थाल्यो। पान्द्राङ्मा आईपुगेपछि अब ओत पनि लाग्ने र नास्ता पनि गर्ने भनेर कुरा भएछ।
आमा मेरो अगाडी नै बसेर आफ्नो जमानाको पुराना कुरा सम्झदैँ, उत्साहित हुँदै सुनाईरहुनु भएको थियो। म भने आमाको कुरालाई मनमनै चित्रमा परिणत गरेर, यस्तो भयो होला भनेर पुराना फिलीम हेरेको झैं चित्र दिमाखमा कोर्दै ध्यान दिएर सुनिरहेकी थिँए।
बाहिर चर्को घाम लाग्दा पनि आमाको त्यो कुरा सुन्दा मलाई पनि पान्द्राङ्को त्यस पानीमा भिज्दै त्यस जन्तिमा म पनि आमा संगै शामिल भएर, यो सबै दृश्य प्रत्क्ष्य देखिरहेको छु जस्तो महसुस भैरहेको थियो।
आमा र म कुरा गर्दै गर्दा बा पनि टुप्लुक्क आईपुग्नुभयो।अनी बा लाई पनि अरू के के भएको थियो त भनेर सोध्न थालेँ। अब आमा र बा दुबैजना मिलेर पुराना कुरा सम्झँदै, यस्तो-यस्तो भएको थियो भनेर सुनाउन थाल्नुभयो।
पुराना कुरा सुन्न मन पर्ने म भने मख्ख पर्दै ध्यान दिएर सुन्न थालेँ।
पान्द्राङ् मा केहिबेर ओत लागीसकेपछि र नास्ता गरिसकेपछि पानि पनि रोकीयो। अब फेरी हिँड्दै हिँड्दै भैसेँ आईपुगीयो। सुपिङ्ग देखी सामरी सम्म हिँडेर आईपुग्नलाई निकै समय लाग्थ्यो। भैसेँमा हिँड्दा-हिँड्दै ठ्याक्कै एउटा ट्रक आईपुग्यो। अब जन्ति आएका सबैजना ट्रक चढेर सामारी पुलसम्म आईपुगे।ट्रक हेँटौडा तर्फ जाने र पुलबाट यता गाडि चल्ने बाटो पनि नभएको कारणले गर्दा सबै जन्ति सामरी पुलमा ओर्लिए। फेरी त्यहाँबाट ओर्लिएर सामरी तर्फ हिँडेरै जान पर्ने भयो।
दुलहीलाई टाढा देखी बोकेर ल्याउँदा कपडा खज्मजिएको थियो। गाउँ पुग्नु भन्दा अगाडी यसो दुलहीको कपडा मिलाउने र कपाल सम्याउने क्रममा भाउजुको आमाले बेहुलीको(आमाको) पोल्टाको चुरोट देख्नुभएछ। उता घरबाट अन्माउने बेला दुलहीको (आमाको) साथीले ” नयाँ घरमा पुगेपछि मन टोलिन सक्छ, कहिले काँही यसो खानु है, चिन्ता लागेको बेलामा” भनेर एक बट्टा चुरोट पोल्टामा हाल्दिनुभएको थियो।
यता भाउजुको आमाले पोल्टामा चुरोट देखेपछि आमा(दुलही) डराउन थाल्नुभयो।
दुलही डराएको देखेर भाउजुको आमाले “नडराउ, घरमा सासुले पनि चुरोट खान्छिन्, तिम्ले खाए केही हुन्न”, भनेर भन्नुभएछ। तर आमाको चुरोट खाने बानी भने थिएन, साथीले नै नयाँ घरमा चिन्ता लाग्ला, एक्लो महसुस होला, त्यतिबेला खानु भनेर पोल्टामा हालिदिएकी थिईन्।
अब घर आईपुगीयो, दुलहीलाई भित्र्याउने काम पनि सकियो। यता आमालाई भने आफ्नो पोल्टाको चुरोट घरको कसैले देख्ने हो की भनेर मनमनै डर लागीरहेको थियो। जति नै मन नलगाउँ भनेपनी ध्यान भने त्यहि पोल्टाको चुरोटमा नै पुगीरह्यो।
भोलीपल्ट बिहान नुहाउन खोलामा जाँदा त्यो चुरोटको बट्टालाई ढुङ्गाको अन्तरमा लुकाएर राखिदिनुभएछ र घर फर्कनुभएछ।
माईतिमा पुलपुलिएर हुर्किएकी, कान्छि छोरी, दाई र दिदीको प्यारी बहिनी। सबैको माया पाएर ठुली भएकी भएर आमालाई घरको काम केही पनि आउदैन थियो। आफुलाई केही काम गर्न नआउने भएपछि सासुलाई त भन्नै पर्यो भनेर सोच्नुभएछ।
“हिजो सम्म म छोरी थिएँ, आजबाट बुहारी भएकी छु आमा, मलाई घरको काम केहि आउदैंन, तपाईलेनै सबै काम सिकाउन पर्छ”, आमाले सासुलाई भन्नुभएछ। सासुले पनि भैहाल्छ नी, म सिकाउछु भन्दै घरको काम सबै सिकाउनुभयो रे।
त्यसदिन देखी आजसम्मको उमेरमा सबै घरब्यवहार धान्नुभयो। आफ्ना छोरा-छोरी, बुहारीहरूलाई सिकाउनुभयो।
” कतिबेला बुढेसकाल ले छोयो पत्तै भएन। “, आमाले भन्नुभयो।
आमाको यो सबै कुरा सुन्दा एकदम रमाईलो लाग्यो। आमाको यो सबै कुरालाई अक्षरमा परिणत गर्न मन लाग्यो। आमालाई सोधेँ, म यसरी यो कुराहरूलाई लेख्छु है भनेर। यो सुनेपछि आमा झनै फुरूङ्ग परेर भैहाल्छ नी, लेख भन्नुभयो। अनी मैले जानी-नजानी लेख्दै गर्दा मेरो छेउमा बसेर ” यसपछि यस्तो भयो…. ” भन्दै मैले लेखेका अक्षरलाई अझै राम्रो बनाउन मद्दत गर्नुभयो।