जडीबुटीको जथाभावी प्रयोग विष हुनसक्छ

जनपत्र
२८ कार्तिक २०७७, शुक्रबार ०७:१०

गुर्जोले रोग प्रतिरोध क्षमता बढाउने हल्लासँगै बजारमा यसको मूल्य ह्वात्तै बढ्यो। बेसार, अदुवा, मरिच, ल्वाङ, तेजपात, दालचिनी, तुलसी लगायत जडीबुटी सेवन गर्नेहरु बढे। तर, यस्ता जडीबुटी सल्लाहविना खान नहुने आयुर्वेदिक चिकित्सकहरु बताउँछन्।

गाउँघरमा धेरै खालका जडीबुटी सजिलै पाइन्छन्। कोरोनाभाइरस महामारी शुरु भएपछि शहरमा त्यस्ता जडीबुटीको आयात बढ्यो। रोग प्रतिरोध क्षमता बढाउन भन्दै धेरैले चिकित्सकको सल्लाहविना नै सेवन गर्न थाले।

सामाजिक संजालमा पनि यस्ता जडीबुटीका फोटो राखेर कतिपयले प्रचार गर्ने गरेका छन्।  तर, कोही प्रयोगकर्ताको अनुभवको आधारमा अरुले त्यही जडीबुटी खान नहुने आयुर्वेद क्याम्पस किर्तिपुरका सह–प्राध्यापक एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का आयुर्वेद अनुसन्धानविज्ञ डा।विशुनदयाल प्रसाद पटेल बताउँछन्।

महामारी शुरु भएपछि धेरैले प्रयोग गरेको जडीबुटी हो, गुर्जो। डा।पटेलका अनुसार उमेर, स्वास्थ्य तथा शारीरिक अवस्था अनुसार गुर्जोको मात्रा प्रयोग गर्नुपर्छ । उनी भन्छन्, “आवश्यकता भन्दा बढी गुर्जोको प्रयोगले रक्तचाप र मधुमेह न्यून हुनुको साथै पेटमा खराबी हुनसक्छ।”

सामान्यतया जडीबुटीले हानी नगर्ने बुझाइ छ। तर, यो बुझाइ गलत भएको उनी बताउँछन्। पटेल भन्छन्, “यसको प्रभाव र असर दुवै ढिलो देखिन्छ। तत्कालका तत्काल केही हुँदैन। विस्तारै स्वास्थ्यमा असर गर्नसक्छ।” स्वास्थ्य स्थिति र शारीरिक अवस्था अनुसारको औषधी भए पनि मात्रा नमिल्दा रोग निको हुँदैन। उचित प्रयोग भएन भने औषधी हुने बस्तु विष हुने उनी बताउँछन्।

सामाजिक संजालमा देखेको वा अन्य प्रयोगकर्ताले भनेकै भरमा जथाभावी जडिबुटी प्रयोग नगर्न सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष डा। बाबुराजा अमात्यको सुझाव छ। उनी भन्छन् “हामीले दैनिक भोजनको रुपमा प्रयोग हुने खानाको मात्रा नमिल्दा त अनेन समस्या हुन्छ। जडीबुटी त औषधी हो। मात्रा नमिलाउँदा अवश्य समस्या निम्तिन्छ।”

उनी पनि जडीबुटीले तत्काल असर नदेखिए पनि भविष्यमा अनेक समस्या हुने बताउँछन्। त्यसैले सम्बन्धित चिकित्सकको सल्लाह लिएर मात्रै प्रयोग गर्नुपर्ने उनको भनाइ छ। औषधिको मात्रा, खाने समय जस्ता विषय सम्बन्धित चिकित्सक अथवा स्वास्थ्यकर्मीलाई मात्रै थाह हुन्छ। त्यसैले सल्लाह लिएर सेवन गर्नुपर्ने उनी बताउँछन्।

यद्यपि, पछिल्लो समय जडीबुटी र आयुर्वेदिक औषधि खान सल्लाह लिनेको संख्या बढेको छ। आयुर्वेदिक औषधीको प्रयोग र फाइदाबारे भेटेरै तथा फोनमार्फत सोध्नेको संख्या बढिरहेको डा। अमात्य बताउँछन्। आयुर्वेदिक औषधि तथा जडीबुटीको महत्व र उपयोगिताबारे चर्चा भए पनि ठीकसँग प्रयोग गर्नुपर्ने सन्देश पनि दिन जरुरी भएको चिकित्सकहरु बताउँछन्।

आयुर्वेदिक औषधिको माग बढ्दो

अहिले आयुर्वेदिक औषधिको माग बढेको छ। वैद्यखानाबाट उत्पादित औषधिहरुको बजारमा अभाव भईरहेको सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष डा। अमात्य बताउँछन्। कोरोना महामारीका कारण परम्परागत आयुर्वेदिक औषधिको चर्चा र प्रयोग बढेको उनको भनाइ छ। “परम्परादेखि प्रयोग गर्दै आएको आयुर्वेदिक औषधीको महत्व बढेको छ। जडीबुटी तथा आयुर्वेदिक औषधिमा विश्वास नगर्नेहरुले पनि प्रयोग गरिरहेका छन्”, उनी भन्छन्।

परम्परागत रुपमा प्रयोग हुँदै आएका र नेपालीको भान्सामा नै प्रयोग भइरहेका सामग्रीको सेवन ह्वात्तै बढ्यो। यी सामग्रीले फाइदा गरेन भने हानी पनि नपु¥याउने विश्वासले दैनिक सेवन गर्नेको संख्या बढेको डा। अमात्य बताउँछन्। त्यस्तो विश्वास नै हानिकारक भएको उनको भनाइ छ।

सचेत उपभोक्ताले भने चिकित्सकहरुको सल्लाह लिन थालेका छन्। कतिपयले सिंहदरबार वैद्यखानाबाटै औषधि किन्ने गरेका छन्। आयुर्वेदिक औषधिको माग बढेसँगै वैद्यखानाले उत्पादन गर्ने आयुर्वेदिक जडीबुटीयुक्त औषधीहरुको पनि अभाव हुन थालेको छ।

वैद्यखानाले हाल माग अनुसार च्यावनप्रास र सिलाजित दिन नसकेकेको डा। अमात्य बताउँछन्। उनी भन्छन्, “हामी उत्पादन बढाउने प्रयासमा छौं। अहिले अमलाको मौसम भएकोले च्यावनप्रास उत्पादनको लागि तयारी गरिरहेका छौं।” वैद्यखानाको मात्र नभएर केन्द्रीय आयुर्वेद चिकित्सालय र विभिन्न आयुर्वेदिक औषधालयले उत्पादन गर्ने औषधिको पनि माग बढ्दो छ। हिमालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*