आज काग तिहार मनाइँदै

जनपत्र
२८ कार्तिक २०७७, शुक्रबार ०६:५३

हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ। पाँच दिनसम्म कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म तिहार मनाइन्छ। पाँच दिनसम्म यमराज आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने मान्यता अनुसार यस पर्वलाई यमपञ्चक भनिन्छ। यस वर्ष २७ कात्तिक बिहीबारदेखि नै शुरु भएको यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदैछ। वैदिक मान्यता अनुसार, कागलाई सन्देशवाहकका रुपमा मानेर मीठो खाना चढाएर पूजा गर्ने गरिन्छ। कागलाई यमदूत पनि मानिन्छ। धनवन्तरि जयन्ती एवम् धनतेरस पनि आजै परेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, २९ कात्तिक शनिबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। अपराह्न १स्४९ बजेपछि औंसी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ। गाई, गोरु र नेवार समुदायको म्हपूजा ३० कात्तिक आइतबार गर्नुपर्ने भनिएको छ। आइतबार बिहान ११स्२७ बजेसम्म औंसी तिथि रहेको त्यसपछि कात्तिक शुक्ल प्रतिपदा शुरु हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने नेवार समुदायका पञ्चाङ्गकारले समेत उल्लेख गरेका छन्।

यस वर्ष १ मंसीरमा परेको भाइटीकाको उत्तम साइत बिहान ११स्३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसपछि पनि दिनभर नै टीका लगाउन कुनै बाधा र समस्या नरहेको समितिको भनाइ छ। मंसीर महीनामा भाइटीका परेकाले दाइलाई टीका लगाउन हुँदै भनी कतिपयले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहेको समितिले जनाएको छ। प्रतिपदामा सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने मान्यता अनुसार यस वर्ष भाइटीकाकै दिन नेपाल संवत्‌को नयाँ वर्ष ११४१ मनाउनुपर्ने पनि समितिले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*