मकवानपुरगढीमा देउसीभैलो खेल्न रोक

हेटौंडा । मकवानपुरगढी गाउँपालिका भरीमा यसपाली तिहारमा देउसीभैलो खेल्नका लागि रोक लगाइएको छ । कोरोना भाइरसको जोखि कायमै रहेको भन्दै मकवानपुरगढी गाउँपालिकाले यस वर्षको तिहारमा देउसीभैलो खेल्न रोक लगाएको हो ।
देउसीभैलो खेल्नका लागि आफुहरु पनि सहभागि नहुने र अरुलाई पनि खेल्न नदिनेगरी निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले वताउनुभयो । गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणका कारण यसवर्षको तिहारमा पम्परादेखि खेल्दै आएको देउसीभैलोमा रोक लगाउने निर्णय गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीद्वारा जारी सूचनामा तिहार घर परिवारका सदस्य बीच मात्र मनाउन आग्रह गरेको छ । तिहारमा सार्वजनिक स्थलमा सामूहिक भेटघाट तथा देउसीभैलोलगायतका क्रियाकलाप नगर्न गाउँपालिकाले सूचित गरेको छ ।
सार्वजनिक स्थलमा भिडभाड गर्ने, पिङ, लङ्र्गुरबुर्जा लगायतका खेलहरु खेल्न, खेलाउन नपाइने, जुवा,तास, ध्रमपान, मध्यपानलगायतका कार्य नगर्ने आग्रह गर्दै गाउँपालिकाले अटेर गर्नेलाई कारबाही गर्ने जनाएको छ । परिवारका सदस्यबीच मात्र पर्व मनाउन र सुरक्षा सवधानी अपनाउन गाउँपालिकाले सूचना जारी गरेको छ । गाउँपालिकाले दशैमा पनि टिका ग्रहणका लागि आफन्तकोमा जान र सामूहिक जमघट तथा खेलहरुमा प्रतिबन्ध लगाएको थियो ।