महाकाली कोरिडोर जोड्न सडक निर्माण गरिँदै

जनपत्र
२४ कार्तिक २०७७, सोमबार ०६:१०

भीमदत्त नगरपालिकाको गड्डाचौकीबाट ब्रह्मदेव महाकाली कोरिडोरलाई जोड्न सडक निर्माण प्रक्रिया अगाडि बढाइएको छ । गड्डाचौकीबाट जिमुवा हुँदै तुमडानी भएर ब्रह्मदेव कोरिडोरसम्म सडक निर्माण गर्न लागिएको हो ।

कोरिडोर जोड्ने ११ किलोमिटर सडक निर्माणका लागि चालू आवमा रू। ३ करोड ७० लाख बजेट विनियोजन गरिएको छ । सडक डिभिजन कार्यालयले ठेक्का गरी सडक निर्माण अघि बढाउन लागेको हो । सडकको गतवर्ष डीपीआर ९विस्तृत परियोजना प्रतिवेदन० तयार गरी सर्भे गरिएको थियो । स्थानीयवासीको सहमतिका आधारमा ब्रह्मदेवसम्म महाकाली कोरिडोर र दोधारा चाँदनीको सुक्खा बन्दरगाहसम्मको ६ लेन सडकसम्म जोड्नेगरी १० मिटर चौडा सडक निर्माण गरिने भएको छ । सडक डिभिजन कार्यालयका प्रमुख सुनीलकुमार कर्णले स्थानीयवासीको सहमतिमा सडक निर्माण अघि बढ्ने बताए । ‘सडक निर्माणका लागि लागत अनुमान तयार गरी अघि बढ्छौं । अहिलेको बजेटबाट कतिसम्म हुन्छ, त्यसमै काम गर्छौं,’ डिभिजन प्रमुख कर्णले भने, ‘लागत तयारी गरी ठेक्का गरेर यस वर्ष सडकको ट्र्याक खोल्ने काम हुन्छ ।’

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले सीमाक्षेत्रमा बस्दै आएका स्थानीयवासीको माग र आवश्यकताका आधारमा गड्डाचौकी सडक निर्माणलाई प्राथमिकता दिइएको बताए । दोधारा चाँदनीको सुक्खा बन्दरगाह र महाकाली कोरिडोरलाई जोड्नेगरी सडक निर्माण गरिने भएकाले पछि राष्ट्रिय राजमार्गको रूपमा विकास गरिने उनको भनाइ छ । महेन्द्रनगर–ब्रह्मदेव लिंकरोडले ब्रह्मदेव जोडिएको छ, गड्डाचौकी–महेन्द्रनगर हुँदै ब्रह्मदेव पनि जान सकिने गरी उक्त सडक निर्माण गरिने भएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*