निजी आवास पुनर्निर्माणकाे अनुदान लिने अन्तिम समयसीमा तय
काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यससम्बन्धी निर्णय गरेको हो ।
सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित पालिकामा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । प्राधिकरणका सह-प्रवक्ता मनोहर घिमिरेले प्राधिकरणको कार्यावधि नै सकिन लागेकाले यो नै अन्तिम समयसीमा हुने बताउनुभयो ।
‘त्यसैले, निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीहरुलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए पालिकामा निवेदन दिन आग्रह गर्दछौं ।’ त्यसैगरी, प्राधिकरणले साविक घर भत्काएर नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा निवेदन दिन पनि अनुरोध गरेको छ ।