सेनापति नरभणेमार्फत ओली र मोदीबीच सन्देश आदान–प्रदान

जनपत्र
२२ कार्तिक २०७७, शनिबार ०६:००

भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेमार्फत प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सन्देश आदान–प्रदान भएको छ । मोदीले उपयुक्त समयमा संवादमार्फत दुई देशबीचका समस्या हल गर्न भारत तयार रहेको खबर पठाएका छन् भने ओलीले औपचारिक संवाद चाँडै थाल्न आग्रहसहितको सन्देश पठाएका छन् ।

प्रधानमन्त्री ओलीसँग शुक्रबार करिब ३५ मिनेट भएको शिष्टाचार भेटका क्रममा सेनाध्यक्ष नरभणेले भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाएका छन् । स्रोतका अनुसार उपयुक्त समयमा द्विपक्षीय संवादमार्फत नेपालसँगका सबै विषय हल गर्न भारत तयार रहेको मोदीको सन्देश थियो । भारतको छिमेक नीतिमा नेपालको महत्वपूर्ण स्थान रहेको र दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउनुपर्ने मोदीको सन्देश नरभणेले सुनाएका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले पनि संवादमार्फत दुई देशका विद्यमान समस्या समाधान गर्नुपर्ने र त्यसका लागि नेपाल तयार रहेको खबर मोदीलाई पठाएका छन् । औपचारिक संवाद चाँडै सुुरु गर्नुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।

गत वर्ष भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि दुई देशबीच औपचारिक राजनीतिक र कूटनीतिक संवाद ठप्प छ । नेपालले संवादका लागि पटक–पटक गरेको प्रयासमा भारतले चासो देखाएको छैन । यसअघि ५ कात्तिकमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएर प्रधानमन्त्री ओलीलाई भेटेका थिए । उनी फर्किएको दुई सातामै सेनाध्यक्ष नरभणे भारतीय प्रधानमन्त्री मोदीको सन्देश बोकेर औपचारिक भ्रमणमा आएका हुन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सीमालगायतका दुई देशबीचका समस्या संवादमार्फत समाधान हुनुपर्ने सन्देश प्रधानमन्त्री ओलीको थियो । ‘विशेषगरी प्रधानमन्त्रीले सीमालगायतका हाम्रा समस्या औपचारिक संवादका माध्यमबाट समाधान गर्नुपर्ने र त्यसो हुने आफूलाई विश्वास छ भन्ने धारणा राख्नुभयो,’ भेटवार्तापछि भट्टराईले भने ।

दुई देशबीचका विद्यमान संयन्त्रहरूको बैठक शीघ्र हुनुपर्ने र छलफलमार्फत समस्या तथा असमझदारीहरू हटाउनु दुवैको हितमा हुने प्रधानमन्त्री ओलीको सन्देश थियो । उनले औपचारिक संयन्त्रहरूको बैठकका लागि नेपाल तयार रहेको र प्रतीक्षारत रहेको पनि बताएका थिए । सेनाध्यक्ष नरभणेले प्रधानमन्त्री ओलीको सन्देश भारतीय प्रधानमन्त्री मोदीकहाँ पु¥याउने वचन दिएका छन् ।

तीनदिने औपचारिक भ्रमण सम्पन्न गरेर दिल्ली फर्किनुअघि नरभणेले रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । स्रोतका अनुसार बिहीबार राष्ट्रपति विद्या भण्डारीलाई पनि उनले मोदीको यही सन्देश सुनाएका थिए ।

भेटवार्तामा प्रधानमन्त्री ओलीसँगै परराष्ट्र मामिला सल्लाहकार भट्टराई, परराष्ट्रसचिव भरतराज पौड्याल तथा नेपाली सेनाका एक अधिकारी सहभागी थिए भने भारतीय पक्षबाट नरभणे, उनीसँग आएका भारतीय सेनाका उच्च अधिकारी, भारतीय राजदूत विनयमोहन क्वात्रा र भारतीय दूतावासका सैनिक सहचारी सहभागी थिए ।

भारतीय दूतावासका अनुसार सेनाध्यक्ष नरभणेले प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा दुई देशबीच विस्तृत द्विपक्षीय साझेदारीबारे छलफल गरेका थिए । उनले दुई देशबीचको रक्षा सहकार्यलाई अझ सुदृढ पार्र्ने विषयमा पनि जोड दिएका थिए । प्रधानमन्त्री ओलीले त्यसमा सहमति जनाएका थिए । ‘जनरल नरभणेले नेपालका प्रधानमन्त्री केपी ओली र नेपाली जनतालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना सन्देश सुनाउनुभयो,’ भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले भने ।

नरभणेले शुक्रबार नै शिवपुरीस्थित ‘नेपाली आर्मी कमान्ड एन्ड स्टाफ कलेज’मा विद्यार्थी तथा सैन्य अधिकारीलाई पनि सम्बोधन गरेका थिए । त्यस क्रममा उनले दुई देशबीच सेनाको तहमा सधैँभरि रहेको समस्यारहित सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

सेनाध्यक्ष नरभणेले नेपालमा न्यानो आतिथ्य पाएको, यहाँको संस्कृतिबाट आफू प्रभावित भएको पनि बताए । उनले भारतीय सेनामा रहेका गोर्खाहरूले भारतको राष्ट्रिय अखण्डतामा पु¥याएको योगदानको पनि चर्चा गरेको सैनिक स्रोतले जनाएको छ । आफ्नो ३९ वर्षे अनुभवका विभिन्न प्रसंग सुनाउँदै नरभणेले नेपाल र भारतबीचको सैन्य सम्बन्धको चर्चा पनि गरेका थिए । त्यसअघि उनले माउन्टेन फ्लाइटबाट सगरमाथाको दृश्यावलोकन गरेका थिए ।

शुक्रबारै सेनाध्यक्ष नरभणेले भारतीय राजदूतावास पुगेर नेपालमा रहेका करिब दुई लाख तीस हजार भारतीय सेनाका भूतपूर्व सैनिक तथा उनका परिवारजनका लागि परिचालित कल्याणकारी कार्यहरूबारे जानकारी लिएका थिए । उनले भारतको दोस्रो उच्च वीरता पुरस्कार ‘महावीर चक्र’ पदकबाट सम्मानित अवकाश प्राप्त हवल्दार दिलबहादुर क्षेत्रीलाई कल्याणकारी अनुदान प्रदान गरेका थिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणमा आएका सेनाध्यक्ष नरभणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेकी थिइन् । बिहीबारै नरभणेले नेपाली समकक्षी थापासँग औपचारिक वार्ता गरेका थिए । त्यसक्रममा आपसी सुरक्षा चासोका विषयमा खुला छलफल भएको जंगी अड्डाले जनाएको छ । साँझ आयोजित रात्रिभोजमा पनि उनीहरूले दुवै देशका सेनाको परम्परागत सम्बन्धको चर्चा गरेका थिए । रात्रिभोजमा रक्षासचिव रेश्मीराज पाण्डे, परराष्ट्रसचिव भरतराज पौड्याल तथा भूतप्रधानसेनापतिहरू पनि सहभागी थिए । नयाँपत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*