देशभर चिसो बढ्दै : काठमाण्डौको आज बिहानको तापक्रम जाडो सुरु भएयताकै कम

काठमाण्डौ – देशभर चिसो बढ्न थालेको छ ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार अब देशभर चिसो बढ्दै जानेछ । बिहानपख हुस्सु लाग्ने क्रम पनि बढ्दै जाने उहाँले बताउनुभयो । काठमाण्डौमा हिजो बिहान बादल लागेकोमा आज भने केही खुलेको छ । बादल लाग्दा अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढ्ने भएकाले तुलनात्मक रुपमा केही न्यानो हुन्छ । तर बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ, जसले गर्दा चिसो बढी महशुस हुन्छ ।
अहिले न्यूनतम तापक्रम घटेर चिसो भएको मौसमविद् अर्यालले बताउनुभयो । पानी पर्यो भने जाडो अझै बढ्नेछ । तर तत्काल पानी पार्ने कुनै प्रणाली नभएकाले देशको पहाडी भेगमा हल्का बाहेक पानी पर्ने सम्भावना छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिजो अस्तिको तुलनामा घाम कम तथा बादल बढी लाग्ने सम्भावना छ ।