अन्धाधुन्ध सडक खन्दा अधिकांश सिँचाइ योजनामा क्षति

जनपत्र
२१ कार्तिक २०७७, शुक्रबार ०७:२४

रसुवामा अन्धाधुन्ध ग्रामीण सडक खन्दा अधिकांश सिँचाइ योजनामा क्षति पुगेको छ । स्थानीयस्तरमा पूर्वयोजना र तयारीविना नै सडक खन्दा त्यसको असर जिल्लाका अधिकांश सिँचाइ योजनामा परेको हो ।

पूर्वतयारी नगरी कार्यान्वयनमा गएका ग्रामीण सडक आयोजनाका कारण जिल्लाका अधिकांश सिँचाइ योजनामा क्षति पुगेको जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय रसुवाका प्रमुख कृष्ण पाण्डेले जानकारी दिए । जिल्लामा अहिले ३१ वटा सिँचाइ योजना सञ्चालनमा छन् । तीमध्ये आठवटा सिँचाइ योजना सबैभन्दा बढी प्रभावित रहेको उनले बताए ।

कार्यालयले गरेको अध्ययनअनुसार कालिका गाउँपालिकाको तल्लो रुप्सेपानी सिँचाइ योजना, लामासोती कुडुले सिँचाइ योजना, धोबीखोला भोर्ले सिँचाइ योजना, भोर्ले सिरान सिँचाइ योजना ग्रामीण सडक खन्दा क्षतिग्रस्त बनेका छन् । उता, नौकुण्ड गाउँपालिकाको मान्सेखोला सिँचाइ योजना, फामचेत सिँचाइ योजना, दनुश्वारा सिँचाइ योजना र उत्तरगया गाउँपालिकाको बेतेगौडा सिँचाइ योजनामा समेत अधिक क्षति पुगेको छ ।

कतै सडकले सिँचाइ कुलो काटे, कतै ठप्प
कतिपय सडक सीधै सिँचाइ कुलो काटेर गएका छन् । कतिपय योजनाको पाइपलाइन काटिएका कारण सिँचाइ नै ठप्प भएको छ । कतिपय ठाउँमा भने सय मिटरभन्दा बढी कुलो नै सडकसँग समानान्तर खनिएका छन् । धेरैजसो स्थानमा कुलोमाथि सडल खन्ने र तल रहेको कुलो पुर्ने समस्या रहेको कार्यालय प्रमुख कृष्ण पाण्डेले जानकारी दिए । माथिबाट सडक खन्दा ठुल्ठूला ढुंगा कुलोमा पर्दा सिँचाइ आयोजनाको संरचना नै भत्कने तथा भाँचिने गरेको उनले बताए ।

‘सडक निर्माण गर्नुअघि सडकको एलाइमेन्टमा त्यसको तल–माथि वा दायाँ–बायाँ अन्य निर्मित संरचना के–के छन्, त्यसको सर्भे गर्नुपर्ने हुन्छ, तर त्यो देखिएन,’ उनले भने । सडकले अन्य आयोजनालाई कमभन्दा कम क्षति होस् भन्नेबारे पूर्वअध्ययन नै नभएको उनी बताउँछन् । सडक निर्माणका दौरान अन्य आयोजनामा प्रभाव पर्ने भए त्यसको न्यूनीकरण, पुनर्निर्माण तथा मर्मतको योजना हुनुपर्नेमा अन्धाधुन्ध काम हुने गरेको गुनासो उनले गरे ।

मर्मतमा अन्योल
सडकका कारण क्षति पुगेका सिँचाइ आयोजनामध्ये कतिपय पुराना योजना हुन भने कतिपय निर्माणाधीन अवस्थाका समेत छन् । निर्माणाधीन अवस्थामा रहेका ठेक्का सम्झौता पूरा नभएका आयोजनाको मर्मतको काम ठेकेदार स्वयंले गरिरहेका छन् । तर, पुराना आयोजनामा भएको क्षति र त्यसको मर्मत भने अन्योलमा परेको छ । यसले बालिनाली लगाउने समयमा कृषकलाई मार पर्ने गरेको छ ।

क्षति पुगेका सिँचाइ योजना पुनस्र्थापित गर्न जिल्लाका स्थानीय तहलाई मौखिक रूपमा जानकारी गराएको उनको भनाइ छ । कार्यालयले अब पत्र नै लेखेर ग्रामीण सडक निर्माणको क्रममा पूर्वअध्ययन गरेर मात्रै क्षति नहुने गरी निर्माण गर्न वा क्षति हुने नै भएमा सिँचाइ कुलो पुनस्र्थापित हुने व्यवस्था गर्ने गरी सडक निर्माण गर्न आग्रह गर्ने तयारीसमेत गरेको छ । अहिले जिल्लामा अधिकांश ग्रामीण सडक स्थानीय तहबाटै खन्ने गरिएको छ ।

पहिरोको जोखिमसमेत बढ्यो
वातावरणीय प्रभावबारे अध्ययन नगरी सडक खन्दा जिल्लाका अधिकांश सिँचाइ योजना पहिरोको समेत जोखिममा छन् । प्रायः सबै कुलोको मुहान खोला क्षेत्रमा परेका कारण अधिकांश सिँचाइ योजना पहिरोको जोखिममा परेका हुन् । धेरैजसो कुलोको मुहान धोबीखोला, घट्टेखोला, पुंगखोला, मचेतखोला, मानसेखोला, सिपचोङखोलामा पर्ने र ती खोलामा सक्रिय पहिरो रहेका छन् ।

त्यसैगरी, कुलोको बीचमा पर्ने काप्रेखोला र अधेरीखोलाले कुलो बगाउने र संरचनामा क्षति पुग्ने गरेको छ । जसले गर्दा कुलो बनाउनभन्दा बढी खर्च कुलो बचाउन बनाउने संरचनामा खर्च हुने स्थिति रहेको कार्यालयको भनाइ छ । त्यसैले योजना स्वीकृत गर्ने आधार रसुवा जिल्लाजस्ता प्रकोप प्रभावित जिल्लाका लागि फरक बनाउनुपर्ने जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय रसुवाले जनाएको छ । नयाँपत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*