नरवणे नेपाली सेनाका १८ औं मानार्थ महारथी

जनपत्र
२० कार्तिक २०७७, बिहीबार ०९:५७

काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आजदेखि नेपाली सेनाको मानार्थ महारथी बन्नेछन् । जंगीअड्डाको अभिलेखअनुसार भारतीय सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं व्यक्ति हुनेछन् ।

बुधबार काठमाडौं आइपुगेका नरवणेले विभिन्न ऐतिहासिक सम्पदा र पशुपतिनाथको दर्शन गरे । यसक्रममा उनी नेपाली ढाकाटोपीमा समेत सजिए । भ्रमणको दोस्रो दिन आज (बिहीबार) उनले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्ने कार्यसूची छ ।

नेपाली सेनाले उपलब्ध गराएको विवरणअनुसार सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रहीआएको छ । तर, सैनिक इतिहासका जानकारहरु त्यसअघिबाट नै यस किसिमको सम्मान दिन थालिएको बताउँछन् ।

सेनाका अवकाश प्राप्त सहायक रथी प्रेमसिंह बस्न्यातको दाबीअनुसार राणा प्रधानमन्त्री वीर शमशेरको पालाबाटै यो परम्पराको सुरुवात् भएको हो ।

उनका अनुसार तत्कालीन व्रिटिस इन्डियाले गोर्खा सैनिकलाई आफ्नो मातहतमा काम गराउनका लागि प्रोत्साहन स्वरुप मानार्थको सम्मान दिने चलन सुरु गरेको थियो । त्यसबेला महासेनानीबाट सम्मान दिन सुरु गरिएको उनको भनाइ छ ।

राणा शासनका बेला जंगबहादुर, रणदीप लगायतले गार्खालीलाई ‘लाहुर’मा जान निरुत्साहित गर्ने नीति लिएको उनी बताउँछन् । वीर शमशेरका पालाबाट भने ब्रिटिस इन्डियाले सम्मानको प्रलोभन देखाएर लाहुरमा लैजान थालेको उनको भनाइ छ ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि २४ अक्टोबर १९४५ मा नेपाल भ्रमण गरेका बेलामा ब्रिटिस इण्डियाको तर्फबाट सेना प्रमुख सर क्लाउडेलाई पहिलो पटक मानार्थ जर्नेलको सम्मान दिइएको इतिहासविदहरु बताउँछन् । उनीहरुका अनुसार तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले उनलाई मानार्थ जर्नेलको दर्ज्यानी चिह्न दिएका थिए ।

जंगीअड्डाको अभिलेखले पनि भारत स्वतन्त्र हुनुअगावैबाट नेपाल र भारतका सैनिकबीच एकअर्काको देशमा भ्रमण गर्ने कार्यको सुरुवात भइसकेको देखाउँछ ।

मानार्थको सम्मान दिने प्रचलनको इतिहासबारे विभिन्न खाल्का दाबी भेटिए पनि याे सम्मान दिने चलन ब्रिटिस इन्डियाकै समयबाट सुरु भएको अधिकांश सैन्य इतिहासका जानकारहरुको भनाइ छ ।

त्यसबेला यसको उद्देश्य गोर्खालीलाई ‘लाहुर’मा लैजानु भए पनि हाल भारतले सुरक्षा रणनीतिका कारण यसलाई महत्व दिने गरेको छ ।

नेपाली सेनाले पनि यस प्रकारको चलनले छिमेकी राष्ट्रबीचको आपसी सम्मान र पारस्परिक विश्वासलाई प्रतिबिम्बित गर्ने बताउँदै परम्परागत चलनलाई निरन्तरता दिँदै आएको छ । यद्यपि, राजनीतिक वृत्त र नागरिक स्तरबाट यो परम्परामाथि पुनर्विचार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*