संकटमा पानी बिरालो, संरक्षणको चासो छैन

जनपत्र
२० कार्तिक २०७७, बिहीबार ०६:३३

नेपालमा पाइने १२ बिरालो प्रजातिमध्ये बाघ, हिउँ चितुवा, लिन्क्स, ध्वाँसे चितुवा र चरी बाघलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन १९७३ अनुरुप संरक्षित सूचीमा राखिएको छ। तर, पानी बिरालोलाई यो सुचीमा समावेश गरिएको छैन। यद्यपि, यो जनावरलाई संकटापन्न अवस्थामा भनि अनुसुचित गरिएको छ। विषेश संरक्षण भने दिइएको छैन।

पानी बिरालो विश्वमा कति छन् पत्तो लागिसकेको छैन। इन्टरनेशनल यूनियन फर कन्जरभेसन अफ नेचरले भने सन् २०१५ मा यसलाई संवेदनशीलको सूचीमा राखेको छ। तर, बाघ, चितुवा आदिको तुलनामा यो प्रजातिको बिरालोको संरक्षण प्राथमिकतामा परेको छैन।

पानी बिरालो एसियाको दक्षिण तथा दक्षिण–पुर्वी क्षेत्रमा पाइन्छ। नेपालमा भने यसको बासस्थान बर्दिया, चितवन, कोशी, पर्सा, बारा जिल्लाका नदी तटीय क्षेत्रमा पाइएको छ। कर्णाली, बबई, राप्ती, नारायणी, कोशी, रेउ खोला, घोडाघोडी तालमा यो जनावर बसेको पाइएको छ।

कपिलवस्तुको जगदिशपुर क्षेत्रमा सन् २०१४ मा गरिएको अध्ययनमा पहिलोपटक पानी बिरालो भेटिएको थियो। त्यसपछि यहाँ गरिएको अरु अध्ययनमा यो जनावर भेटिएको थिएन। तर, हालसालै यस क्षेत्रमा गारिएको क्यामेरा ट्रयाप सर्भेमा पानी बिरालो पुनः भेटिएको छ। कपिलवस्तु नगरपालिकामा अवश्थित जगदिशपुर ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो। यो तौलिहवाबाट ११ किलोमिटर उत्तरमा पर्छ। यो जलाशय विभिन्न चराहरुको लागि प्रख्यात छ।

पछिल्लो अध्ययनले यो क्षेत्र चराको लागि मात्र नभई जङ्गली बिरालो लगायत अन्य वन्यजन्तुको पनि ‘हटस्पट’ बन्ने सम्भावना देखाएको छ। गएको जनवरी दोस्रो हप्तामा अध्ययनकर्ता र त्यहाँका स्थानीयको संयुक्त टोलीले राखेको क्यामरामध्ये तीन स्थानमा पानी बिरालोको फोटो कैद भएको छ।

शहरीकरण, औध्योगीकरण, कृषि र माछा पालनले गर्दा यस प्रजातिको बासस्थानको नाश र खण्डीकरण भैरहेको छ। साथै, सिमसार क्षेत्रको विनाश, अवैध सिकार र प्रतिसोधमा मारिनुले गर्दा यसको संख्या घट्दो क्रममा छ। नेपालमा पानी बिरालोको संख्या १५० देखि २०० सम्म भएको अनुमान छ।

पानी बिरालोको पारिस्थितिक महत्वको कारण यसको संरक्षण जरुरी देखिएको छ। यसले सिमसार क्षेत्रको पारिस्थितिक चक्रमा पनि प्रमुख भुमिका खेलिरहेको हुन्छ। कुनै पनि सिमसार क्षेत्रमा पानी बिरालोको उपस्थिति छ भने उक्त सिमसारको अवस्था राम्रो छ भनेर मान्न सकिन्छ। आफ्नो पोखरीमा पानी बिरालो आयो भने माझी समुदाय आक्रोश व्यक्त गर्छन्। किनभने यसले माछा खाइदिन्छ। तर, पानी बिरालो आउनु भनेको उक्त पोखरी स्वच्छ रहेको सङकेत पनि हो।

यो जनावरले प्रायः राति सिकार गर्छ। यसको प्रमुख आहारा माछा हो। माछा खाइदिने भएको कारण नै माछा पालन गर्नेहरुबाट यो जनावरलाई खतरा छ। तर, यो प्रकृतिको साथी हो। यसले अन्य धेरै तरिकाबाट प्रकृतिमा र मान्छेलाई समेत सहयोग गर्छ। यसले माछाबाहेक साना मुसालाई पनि आहारा बनाउँछ। जसले किसानको बालीनाली नष्ट हुनबाट बचाउँछ।

जगदिशपुर क्षेत्रमा पानी बिरालोको अवस्थाबारे अध्ययन गर्न, मसहित तीन जना अध्ययनकर्ता र एक स्थानीयको टोली बनाइएको थियो। त्यहाँको सामुदायिक छलफल कार्यक्रममा, स्थानीयले पानी बिरालोको संख्या पहिलेको तुलनामा घट्दै गइरहेको बताए। यसैगरी स्थानीय समुदायमा पानी बिरालोबारे चासो रहे पनि कम ज्ञान रहेको पाइयो।

हामीले योजनाअनुसार नै १५ दिनसम्म २४ घण्टा नै क्यामेरा ट्रयाप सर्भे सुचारु गर्यौँ। हामीले स्थानीयसगँ प्रश्नावली सर्भे पनि ग¥र्यौँ। क्यामेरा ट्रयाप अनुगमनको जिम्मा भने स्थानीय अनिल चौधरीलाई नै दिएर काठमाण्डौ फर्कियौँ।

त्यसपछीको सात दिन मैले मेरो जीवनको सबैभन्दा लामो दिन अनुभव गरेँ। किनभने म नागरिक अन्वेषक अनिल चौधरीबाट फिल्डको जानकारी पाउन धेरै उत्सुक थिएँ। एक दिन उनको फोन आयो, मेरो उत्सुकता झन बढ्यो। उनले एउटा क्यामेरामा बिरालो प्रजाति परेको जानकारी दिए। मलाई सकेसम्म छिट्टो जगदिशपुर गएर त्यो पानी बिरालो हो कि होइन निश्चित गर्नु थियो। तर, मैले अर्को यात्राको लागि अझै १५ दिन कुर्नु पथ्र्यो।

मेरो उत्सुकता तब खुशीमा परिणत भयो, जब म १६ औं दिनमा जगदिशपुर पुगेँ। त्यो प्रजाति पानी बिरालो नै थियो। पानी बिरालो परेको क्यामेरा ट्रयापहरु जगदिशपुर जलाशयबाट क्रमशः ६४, २९८ र ४६८ मिटर दूरीमा थिए। यो मेरो पानी बिरालो सम्बन्धित पहिलो व्यक्तिगत अध्ययन हो। यस अध्ययनले कपिलवस्तु क्षेत्रमा पानी बिरालोको उपस्थिति पुनः पुष्टि गरेको छ। यसले मलाई पानी बिरालोको संरक्षणमा निरन्तर काम गर्न हौसला मिलेको छ। श्रेष्ठ ‘साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसन’मा कार्यरत छिन् । हिमालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*