मर्दी र माछापुच्छ्रे पदयात्रा गर्नकाे लागि पीसीआर रिपोर्ट अनिवार्य

कास्की – दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्ट साथमा ल्याउनुपर्ने भएको छ ।
उहाँले भन्नुभयो, “अन्यत्रका पदयात्रा बन्द भएपछि दशैँपछि मर्दी र माछापुच्छ्रेमा पदयात्री उल्लेख्य बढेका छन्, सङ्क्रमण बढी भएका जिल्लाबाट समेत मानिसहरु आएपछि जोखिम कम गर्न पिसीआर रिपोर्ट अनिवार्य गरेका हौँ ।” विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदयात्रा त्यहाँका व्यवसायीले बन्द गरेपछि मर्दी र माछापुच्छ्रेमा आन्तरिक पर्यटकको भीड बढेको हो ।
माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडीले भीडभाड बढेपछि अत्यधिक जनदवाब आएकाले स्थानीयवासी, पदयात्री तथा व्यवसायीलाई सुरक्षित राख्ने प्रयास गरिएको बताउनुभयो । मर्दी पदयात्रामा धम्पुस, घलेल, सिदिङ, कालिमाटीलगायतका बस्तीहरु पर्ने र स्थानीयवासीले असुरक्षित महसुस गरेपछि पिसीआर अनिवार्य गरिएको उहाँको भनाइ छ ।
वडाध्यक्ष दवाडीले भन्नुभयो, “सीमा जोडिएका जिल्लादेखि अत्यधिक सङ्क्रमण भएका स्थानबाट समेत मानिस पदयात्रामा आएका छन्, जसले गर्दा कोही पनि सुरक्षित भएको महसुस भएन । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई सबैले पालना गर्न भनेका हौँ ।” विभिन्न स्थानमा रहेका पर्यटन व्यवसायी समितिसँगै भिँडाबारी र धम्पुस प्रहरी चौकीका सुरक्षाकर्मीलाई समेत पदयात्रीको निगरानीमा परिचालन गर्ने योजना बनाइएको छ ।
मर्दी हिमाल पदयात्रा पछिल्ला वर्षहरुमा पर्यटकको गन्तव्य बनेको छ । मर्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मर्दी हिमाल पदयात्रा मार्गको रूपमा विकास गरिएको छ ।
पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालिमाटी तथा सिदिङ तथा माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, हाइक्याम्प, ‘भ्यू प्वाइन्ट’ हुँदै चार हजार पाँच सय मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ ।