भेडेटार–देवीथान जिपलाइन पुनः सञ्चालन

जनपत्र
१९ कार्तिक २०७७, बुधबार ०५:५३

धरान उपमहानगरपालिका–४ भेडेटारदेखि देवीथानसम्मको जिपलाइन सोमवारदेखि पुनः सञ्चालनमा आएको छ । गत फागुन २४ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको उक्त जिपलाइन कोरोना महामारीका कारण बन्द थियो ।

वर्ल्डवाइड नेपाल ग्रूप प्रालिले करीब ३ करोड रुपैयाँको लगानीमा जिपलाइन सञ्चालनमा ल्याएको जिपलाइन ६५० मिटर लामो छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कम्पनीले भेडेटारमा व्यावसायिक रूपमा जिपलाइन सञ्चालनमा ल्याएको हो । तर लामो समयसम्म जारी बन्दाबन्दी र महामारीका कारण पर्यटक आउने वातावरण नबन्दा ठप्प भएको सञ्चालक केदार थापाले बताए । ‘यसअघि आन्तरिक पर्यटक समेत आउन सकेनन्,’ उनले भने, ‘अब स्वास्थ्य सुरक्षाका लागि सरकारले तोकेको मापदण्ड पूर्ण पालना गर्दै सञ्चालन गर्छौं ।’

उक्त जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम गरी तीनओटा क्याटेगोरी रहेका छन् । क्लासिक जिपलाइन अर्थात् बसेर गरिने जिपलाइनको १२ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै सुपरम्यान अर्थात् घोप्टो सुतेर गरिने जिपलाइनको १५ सय रुपैयाँ र टेन्डम अर्थात् दुईजना भएर गरिने जिपलाइनको २ हजार रुपैयाँ पर्ने अर्का सञ्चालक विवश भण्डारीले जानकारी दिए ।

जीपलाइनमा ८ वर्षदेखि माथिको उमेर समूहका मानिसले मज्जा लिन सक्नेछन् । बालबालिकालाई भने अभिभावकसँग टेन्डम जिपलाइन गराइने कम्पनीले बताएको छ । उक्त जिपलाइन निर्माणका लागि प्रयोग गरिने सम्पूर्ण सामग्री अमेरिका, फ्रान्स लगायतका अन्तरराष्ट्रिय कम्पनीबाट ल्याइएको भण्डारीले बताए ।

जिपलाइनको मज्जा लिन आउने पर्यटकका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा समेत रहेको भण्डारीले जानकारी दिए । जिपलाइनको ब्रेकिङ लोड ११ टन रहेको बताइएको छ । चाडपर्वको अवसरमा छठसम्म जिपलाइनमा २० प्रतिशत छूट समेत रहेको कम्पनीले बताएको छ । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*