कोरोनाको डर र चाडपर्वको रहर हुँदाहुँदै रोजगारीको लागि भारत जानेको लर्को

जनपत्र
१८ कार्तिक २०७७, मंगलवार ०९:४२

कैलाली – हिजोआज कञ्चनपुरको त्रिनगर-गौरीफन्टा नाकामा भारत प्रवेश गर्नेहरुको लामो लाइन देखिन्छ ।

केहीदिन अघिसम्म यही नाकामा दशैँ मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो । अहिले दशैँको टीकासमेत नसकिंदै रोजगारीका लागि भारत पस्नेहरुको लर्को लाग्न थालेको हो ।

भारत जानेहरुको लाइनमा कैलाली मोहन्यालका शिवराज गौतम पनि भेटिनुभयो । उमेर २१ वर्ष मात्र पुग्नु भएका गौतम रोजगारीको लागि भारत जान थालेको ६ वर्ष भइसकेको छ । ‘घर परिवारसँगै दशैँ मनाउनका लागि स्वदेश फर्किएको थिएँ’ उहाँले भन्नुभयो, ‘घर खर्च चलाउनकै लागि दशैँको टीका सकिनेबित्तिक्कै रोजगारीको लागि भारत जाँदैछु ।’’

अछामको मंगलसैन नगरपालिकाका रुपबहादुर रावल पनि त्रिनगर-गौरीफन्टा नाका भएर भारत जानेहरुको लाइनमा भेटिनुभयो । ‘कोरोनाको प्रभावपछि रोजगारी गुमेपछि घर फर्किएको थिएँ’ उहाँले भन्नुभयोे, ‘फेरि अरु कामको खोजीमा नै भारत जान लागेको हुँ ।’

भारत जान कोही धनगढी बसपार्कका होटलमा टिकट लिने हतारोमा छन् त कोही गौरीफन्टा नाकामा लामबद्ध उभिएका छन् । दशैँ सकिएर तिहार आउनै लाग्दा भारत जानु उनीहरुको रहर त थिएन । तर दुई चार पैसा कमाउन र परिवारको लालनपालनकै लागि भारत जानुपर्ने बाध्यता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*