अमेरिकाको राष्ट्रपति चुनाव आज, नेपाली पनि ट्रम्प र वाइडेनको पक्षमा विभाजित
काठमाडौं । अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मंगलबार राति हुँदैछ । वर्तमान राष्ट्रपति एवम् रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति एवम् डेमोक्र्याट उम्मेदवार जो वाइडनबीच चुनावमा कडा प्रतिस्पर्धा हुने अनुमान छ ।
कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन् महत्वपूर्ण भएको विश्लेषकको भनाइ छ ।
आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने अमेरिकी राष्ट्रपति निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन । सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ ।
विगतका चुनावमा अनुदारवादी ठानिएको रिपब्लिकन र उदारवादी ठानिएको डेमोक्र्याट पार्टीबीच आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बीमा जस्ता मुद्दामा पेचिलो बहस हुने गरेको थियो । यसपटकको चुनावमा भने कोरोना भाइरस नै केन्द्रबिन्दुमा रह्यो ।
हुन पनि निर्वाचनको संघारमा आइपुग्दा आठ महिनाको बीचमा दुई लाख ३० हजार अमेरिकीले कोरोना भाइरसका कारणले जीवन गुमाएका छन् भने ९० लाखलाई यो संक्रमणले गाँजेको छ । त्यतिमात्र होइन, सप्ताहन्तमा मनोरञ्जनमा धक फुकाएर खर्च गर्ने अमेरिकीहरुको बानीले विश्व अर्थतन्त्रलाई चलायमान बनाउँदै आएकामा अहिले यो चक्र झण्डै रोकिएको अवस्थामा आइपुगेको छ । त्यसैले यो निर्वाचनका अहिलेका एजेण्डामध्ये कोरोना र यस महामारीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा पारेको प्रभाव नै केन्द्रबिन्दुमा छ ।
आलोचकले कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भनेर टिप्पणी गरिरहेका छन् भने ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनेर बचाउ गर्दै आएको छ ।
कूल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको संख्या २४ करोड रहेको छ । अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ । हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट शुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था (अर्ली भोटिङ्ग) मार्फत करिब नौ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्यांक सार्वजनिक भएको छ । यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यो कूल मतदाता संख्याको ६२ प्रतिशत हो ।
मंगलबारको निर्वाचनमा रिपब्लिकन र डेमोक्र्याट पार्टीको क्रमशः बर्चस्व रहेको सिनेट र कांग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ । एक सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र्उाटको ४७ सिट रहेको छ । उता तल्लो सदन भनेर चिनिने काँग्रेसमा भने ४३५ सिटमा डेमोक्र्याटको २३२ सिटसहित बर्चस्व रहेको छ । यसपटक सिनेटको ३३ सिट र काँग्रेसको ४३५ सिटको निर्वाचन हुँदैछ । सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको चुनाव हुने गर्दछ भने काँग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ ।
विगत वर्षमा सर्वेक्षणको नतिजालाई निकै विश्वसनीय मानिएको भए तापनि सन् २०१६ पछि यसमा पनि प्रश्न उठाउन थालिएको छ । तर पनि सर्वेक्षण गर्दै आएका ठूला र मूलधार भनिएका सञ्चारमाध्यमले पनि जो वाइडनको अग्रतालाई प्रचार गरिरहेका छन् । तर यसपटक हरेक विषयमा भौतिकरुपमा भन्दा प्राविधिकरुपमा मतदाता र उमेदवारहरुबीच अन्तक्रिया भएकाले सर्वेक्षणमा पनि त्यसको प्रभाव परेको आँकलन गर्नेहरु पनि छन् ।
नेपाली पनि दुई पक्षमा बिभाजित
अमेरिकामा रहेका नेपाली अमेरिकनलाई पनि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यो पटकको निर्वाचनले प्रभावित पारेको छ । संख्यात्मक हिसाबले नेपाली भाषीको निर्वाचनका समयमा ठोस प्रभाव पार्न नसक्ने भए तापनि नेपाली मूलको जनघनत्व बढी भएको स्थानमा भने कोही रिपब्लिकन त कोही डेमोक्र्याट पार्टीका उम्मेदवारलाई आर्थिक सहयोग गर्नेदेखि चुनावी प्रचारमा समेत होमिएको बताउँदै आएका छन् ।
भण्डारीले भने, ‘हामीले राजनीतिकरुपमा अमेरिकाको मूलधार र यहाँको प्रजातन्त्रको अभ्यासमा भावी पिँढीलाई कसरी समाहित गराउने भनेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । व्यक्तिगतरुपमा म र हाम्रो समूहले पूर्व राष्ट्रपति वाराक ओवामाको पालादेखि नै नेप्लिज अमेरिकनलाई मूलधारको राजनीतिमा समावेश गराउने पहल गरिएको थियो ।
’डेमोक्र्याट पार्टीकोतर्फबाट मेरिल्याण्ड जनरल एसेम्वलीमा डेलिगेटमा विजयी भएका पहिलो नेपाली अमेरिकन हयारी भण्डारीले आफ्नो अगुवाइमा ‘नेप्लिज फर वाइडेन’ अभियान सञ्चालन गरेका छन् । यसै सिलसिलामा भण्डारीले अमेरिकी सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनसँग नेपाली समुदायका अगुवाहरुलाई चुनावी रणनीतिबारे भर्चुअल अन्तर्क्रिया र र्याली पनि उनले गराएका थिए ।