उद्योग वाणिज्य महासंघ चुनाव : प्रधान समूहले दर्ता गर्‍यो उम्मेदवारी

जनपत्र
१८ कार्तिक २०७७, मंगलवार ०६:०१

उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० को आसन्न चुनावका लागि किशोर प्रधान समूहको प्यानलले उम्मेदवारी दर्ता गरेको छ । मंसिर १२ गते संस्थाको नयाँ नेतृत्वका लागि काठमाडौंमा हुने चुनावमा प्रधानसहित उनको प्यानलले उम्मेदवारी दर्ता गरेको हो । प्रधान समूहबाट वस्तुगततर्फ अन्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एसोसिएटबाट सौरभ ज्योतिले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुरमा आयोजित कार्यक्रममा भावी अध्यक्ष शेखर गोल्छासहित पूर्वअध्यक्षहरुको उपस्थितिमा प्रधान प्यानलले उम्मेदवारी दर्ता गराएको हो ।

कार्यक्रममा प्रधान प्यानलका सबै उम्मेदवारको उपस्थिति रहे पनि कोभिड संक्रमणका कारण एसोसिएट उपाध्यक्षको उम्मेदवारी दिएका ज्योति भने भर्चुअल माध्यमबाट सहभागी थिए ।

कार्यक्रममा प्रधानले निजी क्षेत्रको नेतृत्व गरेर सरकारसँग सहकार्य गरी नीतिगत कठिनाइ हटाएर व्यवसायमा रहेका बाधा हटाउन आफूले उम्मेदवारी दर्ता गराएको बताए । उनले भने, ‘हामी इतिहासकै कठिन मोडमा छौँ, पहिले–पहिले पनि अध्यक्षलाई उपाध्यक्षलगायत अन्य पदाधिकारीले असहयोग गर्दा महासंघले काम गर्न नसकेका प्रशस्तै उदाहरण छन् । हामी औँला नभएर मुठ्ठी बनेर काम गर्न चाहन्छौं ।’

भावी अध्यक्ष पक्का भएका गोल्छाले प्रधान प्यानलसहितको सहभागिताले मात्रै देशको अर्थतन्त्र सुधारका लागि महासंघले काम गर्न सक्ने बताए । राजनीति गर्न महासंघमा नआएको बताउँदै निजी क्षेत्रको सुधारका लागि योजना बनाएर आएकाले यी काम पूरा गर्न आफूलाई सहयोग गर्नेहरु चाहिने भएकाले प्रधानको टिमलाई साथ दिएको उनको भनाइ थियो ।
मंसिर दोस्रो साता हुने साधारणसभासँगै वर्तमान अध्यक्ष भवानी राणाको कार्यकाल सकिने र महासंघमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्न पाउने विधानअनुसार गोल्छाले नेतृत्व सम्हाल्नेछन् । गोल्छा अध्यक्ष बन्ने पक्का भए पनि सहमति नजुट्दा प्रधान र अर्का उपाध्यक्ष चन्द्र ढकालको समूह उपाध्यक्षलगायत अन्य पदका लागि चुनावमा भिड्दै छ ।

पदाधिकारी बैठकले मंसिरमा चुनाव गर्ने निर्णय गरेर सरकारसँग अनुमति लिएपछि ढकाल प्यानलले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेको छ । ढकाल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एसोसिएटतर्फ रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराइसकेका छन् । यसअघि गत वर्ष चैतमै महासंघको ५४ औँ साधारणसभा र नयाँ नेतृत्व चयन हुने निर्णय भइसके पनि कोरोनाका कारण अन्तिम समय आएर साधारणसभा स्थगन भएको थियो । त्यसपछि पटक–पटक साधारणसभाका लागि मिति तय भए पनि कोरोनाकै कारण तोकिएको समय साधारणसभा हुन सकेको थिएन । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*